नेपालीहरुमा दमको रोग सबैभन्दा बढी, मधुमेह र मिर्गौला सम्बन्धी समस्या पछिपछि
काठमाडौँ, २६ चैत । नसर्ने रोगको जोखिममा परेका नेपालीहरुलाई सबैभन्दा बढी दमको रोगले सताउने गरेको एक हालै गरिएको अनुसन्धानले बताएको छ । उक्त अनुसन्धानले मधुमेह र मिर्गौला सम्बन्धि समस्या भएकाहरुको संख्याले दमका बिरामीलाईहरुको संख्यालाई पच्छ्याउने क्रममा रहेको दावी गरेको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदले सोमबार सार्वजनिक गरेको नसर्ने दीर्घ रोग सम्वन्धी राष्ट्रिय सर्भेक्षण प्रतिवेदनले ११.७ प्रतिशत नेपालीहरुलाई दमको समस्या भएको बताएको छ ।
सोही प्रतिवेदनले ८.६ प्रतिशतलाई मधुमेह र ६ प्रतिशतमा दीर्घकालिन मिर्गौला रोग भएको उल्लेख गरेको छ ।अनुसन्धान प्रतिवेदनले मुटु रोगबाट पीडित हुनेसंख्या भने २.९ प्रतिशत मात्रै भएको जनाएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदका बरिष्ठ अनुसन्धान अधिकृत डा मेघनाथ धिमालका अनुसार सो अनुसन्धान दुई बर्ष लगाएर दुई चरणमा सम्पन्न गरिएको हो । सन् २०१६ देखि २०१८ सम्म नेपालका ७२ जिल्लाका ४ सय क्लस्टरमा गई गरिएको यो अनुसन्धान २० बर्ष र सो भन्दा माथिका १३ हजार २०० जनामा गरिएको थियो ।
‘हामीले पहिलो चरणमा छानिएका सहभागीसंग अन्तरवार्ता लियौँ, दोस्रो चरणमा रगत र पिसावको जाँचका साथै मुटु र छातीको जाँच गरियो । पहिलो चरणको तथ्यांक सकिएको तीन महिना पछि दीर्घकालिन मिगौला रोगी पत्ता लगाउन पुन ती व्यक्तिहरुको अल्बुमिन र क्रियटिनिन अनुपात ३० र सो भन्दा माथि छ भनी उनीहरुको रगत र पिसावको नमुना संकलन गरी जाँच गरियो,’ डा. धिमालले भने ।
देशव्यापी रुपमा गरिएको उक्त अनुसन्धानले धेरै जसोमा व्यावहारिक र जैबिक जोखिमका तत्वहरु जस्तै सुर्तीसेवन, मादकपदार्थको सेवन, दमरोगको जोखिम, रगतमा चिनीको उच्च मात्रा, उच्चरक्तचाप महिलामा भन्दा पुरुषमा उच्च भएको समेत देखाएको छ ।
डा. धिमालले अनुसन्धानबाट नेपालमा नसर्ने दीर्घरोगहरुको भार बढी भएको तथा बढ्दो जोखिमतत्वहरुले यसको भार बढाईरहेको देखिएको बताए । उनले यसका लागि उचित स्वास्थ्य प्रबर्धन र दीर्घकालिन रोगहरुको रोकथाम सम्बन्धि कार्यक्रम आवश्यक भएको समेत बताए ।
सम्पर्क इमेल : [email protected]