समायोजनको बिरुद्ध आन्दोलनमा उत्रिएका चिकित्सक संघीयता विरोधी हुन् : उपप्रधानमन्त्री यादव
काठमाडौँ, २५ चैत । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले समायोजन विरुद्ध आन्दोलनमा उत्रिएका सरकारी चिकित्सक संघीयता विरोधी भएको आरोप लगाएका छन् । उनले अत्यावश्यक उपचार सेवामा अवरोध गर्ने चिकित्सक विरुद्ध कानुनी कारवाही गर्ने चेतावनी दिएका छन् ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले बर्षभरीमा गरेका अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्न आयोजित कार्यक्रममा पुगेका मन्त्री यादवले पत्रकारहरुको जिज्ञासामा उत्तर दिँदै समायोजन संघीयताको मर्म अनुरुप भएको भन्दै आन्दोलनको तुक नरहेको ठोकुवा गरे ।
‘डाक्टर बनेकै बिरामीको उपचार गर्नका लागि हो । उपचार नगर्ने त डाक्टर नै होइनन् , गाँउमा जान्न, शहरमा मात्रै बस्छु भन्ने प्रबृत्ति सहिय हुँदैन । सरकारले खटाएको ठाँउमा उपचार गर्न डाक्टर जानुपर्छ,’ उपप्रधानमन्त्री यादवले अगाडी थपे ।
यता सरकारी चिकित्सकले भने संघ अन्तरगर्त रहेर आफूहरु गाँउ जाने बताउँदै आएका छन् । ‘हामी समायोजनको विरोधी होइनौँ, समायोजन प्रक्रियाको विरोधी हौँ । हाम्रो बृत्ति विकासका लागि पनि संघ अन्तरगर्त राखियोस र गाँउ पठाइयोस,’ सरकारी चिकित्सक संघ नेपाल गोदानका अध्यक्ष डा दीपेन्द्र पाण्डेले भने ।
गत साता सामान्य प्रशासन मन्त्रालयले प्रदेश तथा स्थानीय तह अन्तरगर्त रहने गरी चिकित्सकको समायोजन गरेपछि शुक्रबार देखि देशभरका सरकारी चिकित्सक आकस्मिक बाहेकका सेवा ठप्प पारी आन्दोलनमा उत्रिएका छन् । उनीहरुको आन्दोलनका कारण लाखौँ विरामी उपचार सेवाबाट बन्चित भएका छन् ।
सम्पर्क इमेल : [email protected]