निर्णय भएको एक महिना पुग्न आट्यो समायोजनको पत्र स्वास्थ्यका सहसचिवले पाएनन्
काठमाडौँ, १९ फागुन । सरकारले करीब एक महिना अघि नै समायोजन गर्ने निर्णय गरेपनि स्वास्थ्य समूहका सहसचिव तहका कर्मचारीले अझै पत्र पाएका छैनन् । उनीहरुले कहिले पत्र पाउँदैछन् त्यो पनि भन्न सकिने अवस्थामा छैन ।
गत २१ माघको मन्त्रिपरिषदले स्वास्थ्य समूहका ५० जना सहित अरु समूहकासमेत सहसचिवहरुको समायोजन गर्ने निर्णय गरेको थियो । तर अरु समूहका सहसचिवले पत्र पाएपनि स्वास्थ्यकाले भने पाएका छैनन् ।
यसअघि सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्यका सहसचिवले फारम भर्दा त्रुटी गरेको र त्यसले नतिजामा केही गडवडी देखिएको अनि सच्याउन अनुरोध आएपछि त्यसमा केही समय लागेको जवाफ दिएको थियो । तर अहिले चिठी दिन ढिलो हुनुमा अर्को पनि कारण रहेको उसले बताउन थालेको छ ।
पछिल्लो पटक सरकारले देशका पाँचवटा अस्पताललाई संघ अन्तरगर्त रहने गरी स्तरबृद्धि गरेपछि पत्र दिन ढिलाई भएको हो । मन्त्रिपरिषद बैठकले कोशी अञ्चल अस्पताल, नारायणी उपक्षेत्रिय अस्पताल, भरतपुर अस्पताल, भेरी अञ्चल अस्पताल र डडेलधुरा उपक्षेत्रिय अस्पताललाई संघ माताहत राख्ने निर्णय गरेको थियो।
त्यसलगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा स्वास्थ्यको दरबन्दी संशोधन गर्न पत्राचार गरेको छ। ‘यी विविध कारणले स्वास्थ्यका सहसचिवको पत्र बन्न ढिलाई भएको हो,’ समायोजन प्रक्रियाका लागि स्वास्थ्यका तर्फबाट सामान्य प्रशासन मन्त्रालयमा फोकल पर्सन बनेका उपसचिव लिलाराज पौडेलले भने ।
उनले स्वास्थ्यका सहसचिवको पत्र बन्न अझै केही दिन लाग्न सक्ने संकेत गरे । ‘पत्र त छिटै बन्नुपर्ने हो तर पाँचवटा अस्पतालको नयाँ निर्णले केही अल्मल्याएको जस्तो छ । सहसचिव ज्युहरुले पत्र पाउन अझै केही दिन लाग्न सक्छ,’ उनले भने ।
यता लामोसमयदेखि जिम्मेवारीविहीन भएका स्वास्थ्यका सहसचिवहरुले समायोजन पछि समेत पत्र नपाउँदा निरास बनेका छन् ।
‘हामीलाई एकदमै झ्याउ लागि रहेको छ । यति लामो समयसम्म काम नपाई बस्नु परयो । सहसचिव डा रमेश खरेलले भने । सामान्यले पत्र दिएमा स्वास्थ्यले हामीलाई पदस्थापन गर्ने बाटो खुल्थ्यो,’ उनले भने ।
सम्पर्क इमेल : [email protected]






नेपाली हेल्थ 

