थप ६ जिल्लामा बालपोषण भत्ता वितरण गरिने

काठमाडौँ, २५ भदौ । सरकारले यस वर्ष थप छ जिल्लाका बालबालिकालाई बालपोषण भत्ता वितरण गर्न थालेको छ ।
केन्द्रीय पञ्जीकरण विभागले अति गरिबीको सूचाङ्कमा रहेका जिल्लाका बालबालिकालाई बालपोषण भत्ता वितरण गर्ने तयारी थालेको विभागका महानिर्देशक अनिलकुमार ठाकुरले जानकारी दिए । विभागले ५ वर्षमुनिका बालबालिकालाई मासिक रु ४०० बालपोषणबाट भत्ता दिने गरेको छ । गरिब बालबालिकालाई खाजा, पोषणयुक्त उपभोग्य पदार्थ खानका लागि बालपोषण भत्ता दिँदै आएको छ । उनले अहिले गरिबी सूचाङ्कका रहेका जिल्ला छनोट भइरहेको बताए ।
यसअघि विभागले गत माघदेखि बझाङ, अछाम र रौतहटका बालबालिकालाई पोषण भत्ता वितरण गरिसकेको छ । ‘‘हामीले चाँडै नै अति गरिब जिल्लाको पहिचान गरेर छनोट गर्दछौँ’’, उनले भने, ‘‘अनि छनोट भएका जिल्लाका बालबालिकाको नामावली पठाउन स्थानीय तहलाई निर्देशन दिनेछौँ ।’’
महानिर्देशक ठाकुरका अनुसार अति गरिबीको सूचाङ्कमा परेका कैलाली, बाजुरा, सर्लाही, महोत्तरीलगायत जिल्ला रहे पनि अन्य दुई जिल्लाबारे निर्णय हुन बाँकी छ । नामावली संकलन भइसकेपछि विभागले अर्थ मन्त्रालसँग रकम माग गर्नेछ । विभागले जागिर भएका, व्यवसाय गरेका अभिभावकका बालबालिकाबाहेक सबैलाई बालपोषण भत्ता उपलब्ध गराउने गरेको छ । स्थानीय तहबाट बालबालिकाका आमालाई उक्त भत्ता दिइनेछ । रासस
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



