नुवाकोटमा पानीजन्य रोगका बिरामी ह्वात्तै बढे

0
Shares

नुवाकोट, ४ साउन । वर्षायाम लागेसँगै पछिल्ला केही दिनयतादेखि नुवाकोटका अस्पतालमा ज्वरो र टाइफाइडका बिरामी बढेका छन् ।

ज्वरो, भाइरल फिवर, रुघाखोकीको ज्वरो, दम, टाइफाइडजस्ता रोगका बिरामीको संख्या बढेको त्रिशूली जिल्ला अस्पतालका डा राजेन्द्र लामाले बताए । बर्खाको समयमा विशेषगरी पिउने पानीमा हुने प्रदूषणका कारण बिरामीको संख्यामा वृद्धि भएको अस्पतालले जनाएको छ ।

अस्पतालमा १०५ डिग्री सेल्सियससम्म उच्च ज्वरोका बिरामीसमेत उपचारका लागि आउने गरेको उनले बताए । अस्पतालमा दैनिक १०० जनासम्म बिरामी उपचारका लागि आउने गरेकोमा अधिकांश बिरामी ज्वरोको हुने गरेको डा लामाले बताए । झोलिलो खानेकुरा खान, कडा परिश्रम नगर्न, खानपान र व्यायाममा ध्यान दिन बिरामीलाई सल्लाह दिँदै आएको उनले बताए ।

विशेषगरी नुवाकोट सदरमुकामसँग जोडिएका गाउँपालिका तथा नगरपालिकाबाट ज्वरोका बिरामी आउने गरेका छन् । डा लामाले जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्लाको केही ठाउँमा गरेको नमूना परीक्षणमा पानीमा दिसामा पाइने जीवाणु कोलिफर्म भेटिएकाले पानी शुद्धीकरण गरेर पिउन आग्रह गरे ।

रातमाटे, विदुर, कोलनी, तुप्चे, गेर्खु र काउलेको खानेपानीको परीक्षणमा कोलिफर्मको मात्रा ३० देखि ६० सम्म रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *