यमनमा हैजाबाट मृत्यु हुनेको संख्या ११५ पुग्यो

यमन, १ जेठ । द्वन्द्वग्रस्त खाडी मुलुक यमनमा फैलिएको हैजाका कारण मृत्यु हुनेको सङ्ख्या ११५ जना पुगेको छ । अन्तर्रा्ष्ट्रिय रेडक्रस समिति (आईसीआरसी)का अनुसार हैजाको प्रकोपबाट आठ हजार ५०० जना बिरामी परेका छन् । उनीहरुको उपचारका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्वास्थ्य सङ्घसंस्थाहरु यमन पुगेका छन् ।

‘हामीले अहिले हैजाको गम्भीर समस्याका रोगीहरुको उपचारमा सहयोग गरिरहेका छौँ,’ आइसीआरसीका कार्यक्रम सञ्चालक डोमिनिक स्टिलहार्टले बताए । यमनको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कलाई उद्धृत गर्दै स्टिलहार्टले अप्रिल २७ देखि शनिबारसम्म ११५ जनाको मृत्यु भएको बताए ।

गत मङ्गलबार विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले यमनमा हैजाका कारण ३४ जनाको मृत्यु भएको जनाएको थियो । यमनमा यो वर्ष हैजा तथा दूषित पानीका कारण फैलिने रोगको सङ्क्रमणका कारण नागरिक ठूलो सङ्ख्यामा प्रभावित बनेको दोस्रो घटना हो ।

यमनमा भएका द्वन्द्वका क्रममा अस्पताल तथा स्वास्थ्य केन्द्रसमेत विस्थापित बनेपछि लाखौँ मानिसले आफ्नो स्वास्थ्य समस्यालाई भाग्यको जिम्मा लगाउन बाध्य छन् ।

लामो द्वन्द्वले खानेपानी आपूर्ति तथा मुहानहरू दूषित बनेका कारण सफा खानेपानीका लागि सङ्घर्ष गर्नुपर्ने स्थिति रहेको छ । विश्व खाद्य सङ्गठनका अनुसार यहाँका करिब एक करोड ७० लाख मानिसले आधारभूत खाद्यन्नको अभावमा बाँच्नु परेको छ ।

यमनमा सन् २०१५ यता सुरु भएको द्वन्द्वका कारण करिब सात हजार मानिसको मृत्यु भएको छ भने ३० लाखभन्दा बढी विस्थापित बनेका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *