बाह्र हप्तासम्मको निःशुल्क गर्भपतन सेवा सुरु

724
Shares

सिन्धुली, १६ फागुन । सिन्धुली अस्पतालमा १२ हप्तासम्मको निःशुल्क सुरक्षित गर्भपतन सेवा सुरु भएको छ ।

जथाभावी गर्भपतन गराउँदा महिलाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै अस्पतालमा नै निःशुल्क सुरक्षित गर्भपतन सेवा सुरु भएको हो ।

पहिला रु ९९९ शुल्क लिएर सुरक्षित गर्भपतन सेवा दिँदै आएको अस्पतालले फागुन १ बाट सिन्धुली अस्पतालमा निःशुल्क सुरक्षित गर्भपतन सेवा सुरु गरेको जनाएको छ ।

गर्भको अवस्था पहिचान नगरी जथाभावी औषधि प्रयोग गर्ने तथा प्राइभेट क्लिनिकमा अदक्ष चिकित्सकबाट जथाभावी गर्भपतन गराएमा महिलाको स्वास्थ्यमा गम्भीर असर पर्ने निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन डा सुमित्रा गौतमले जानकारी दिइन् ।

सिन्धुली अस्पतालमा यसअघि रु ९९९ शुल्क लिएर सुरक्षित गर्भपतन सेवा सञ्चालन गरे पनि दक्ष चिकित्सकको अभावमा प्रभाकारी रुपमा सञ्चालन हुन सकेको थिएन ।

गत वर्षबाट शुल्कमा सुरक्षित गर्भपतन सेवा सञ्चालन भएपश्चात् १४९ जनाले सो सेवा लिएका थिए । यस वर्षको माघ मसान्तसम्म करिब १५० जनाले सेवा लिएका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन गौतमले जानकारी दिइन् ।

निःशुल्क सेवा सुरु भएपछि दैनिक दुईदेखि तीनजना सेवा लिन आउने गरेको गौतमले बताइन् । उनले निःशुल्क र दक्ष डाक्टरबाट सुरक्षित गर्भपतन सेवा सिन्धुली अस्पतालमा सुरु भएकाले सेवा लिन आउन १२ हप्तासम्मका गर्भ भएका तर सन्तानका चाहना नभएका दम्पतीलाई आग्रह गरिन् ।

सिन्धुली अस्पताल ५० श्ययाको भएपश्चात् आधुनिक ल्याब, एक्स–रे मेसिनद्वारा सेवा दिइरहेको निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन गौतमले बताइन् । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *