उत्कृष्ट कार्यसम्पादन गर्ने अस्पताल, आयुर्वेद र स्वास्थ्य कार्यालयहरु पुरस्कृत

काठमाडौँ, २२ कात्तिक । आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको बागमती प्रदेश स्तरीय एकीकृत वार्षिक समीक्षामा उत्कृष्ठ कार्यसम्पादन गर्ने स्वास्थ्य संस्था तथा अस्पतालहरु पुरस्कृत भएका छन् ।
स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको आयोजनामा गत १७ देखि १९ कात्तिकसम्म प्रदेश राजधानी हेटौडामा चलेको एकीकृत बार्षिक समीक्षा गोष्ठीमा वर्षभरीमा उत्कृष्ठ कार्यसम्पादन गर्ने तीन अस्पताल, तीन जनस्वास्थ्य कार्यालय र तीनवटा आयुर्वेद कार्यालयहरुलाई पुरस्कृत गरिएको हो ।
प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा नरेन्द्रकुमार झाका अनुसार जनस्वास्थ्य कार्यालय तर्फ यसपटक ७७.७५ अंकभारका साथ जनस्वास्थ्य कार्यालय काभ्रे प्रथम भएको छ । यस्तै ७७.५१ अंकभारका साथ जनस्वास्थ्य कार्यालय ललितपुर दोस्रो भएको छ । यस्तै ७७.०५ अंकभारका साथ जनस्वास्थ्य कार्यालय मकवानपुर तेस्रो भएको छ ।
यसैगरी अस्पतालहरु तर्फ यसपटक ७९.६६ अंकभारका साथ हेटौंडा अस्पताल प्रथम भएको छ । यस्तै ७५.६९ अंकका साथ सिन्धुली अस्पताल दोस्रो र ७५.४ अंकभारका साथ भक्तपुर अस्पताल तेस्रो भएको छ ।
समीक्षा गोष्ठीमा प्रदेश अन्तर्गत सञ्चालित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयहरुको मूल्यांकनको नतिजा सार्वजनिक गर्दै उत्कृष्ठ संस्थाहरुलाई पुरस्कृत गरिएको थियो ।
डा. झाका अनुसार आयुर्वेद तर्फ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र नुवाकोटले ७२.५ अंकका साथ प्रथम स्थान हासिल गरेको छ । यसैगरी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीले ७१.७ अंकका साथ दोस्रो र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काभ्रे ७१ अंकका साथ तेस्रो भएको छ ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 



