सरकार र डा. गोविन्द केसीबीच छ बुँदे सहमति, अनसन अन्त्य

काठमाडौ, २१ कात्तिक । सरकारसंग छ बुँदे सम्झौँता गर्दै डा गोविन्द केसीले विगत ९ दिन देखि जारी अनसन अन्त्य गरेका छन् । सरकार र डा. केसीबीच आज विहान सहमति भएको हो ।
रातभरको बार्ता पछि सहमति पत्रमा सरकारका तर्फबाट शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र डा केसीले हस्ताक्षर गरेका छन् । सहमतिको रोहबरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका स्वास्थ्य सल्लाहकार प्राडा जगदीश अग्रवाल, प्रतिनिधिसभा सदस्य पुकार बम र नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा बद्री रिजाल रहेका छन्।
यो सहमतिसंगै डा केसीले जारी अनसन अन्य गरेका हुन् ।
सहमतिका मुख्य ६ बुँदा यस्ता छन् :
१. शहीद दशरथ चन्द विश्वविद्यालयमा कार्यक्रम सञ्चालन र सिट थपको छानबिन :
चिकित्सा शिक्षा आयोगको २०८३ असोज ३० गतेको निर्णयअनुसार सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई एमबीबीएसलगायत शैक्षिक कार्यक्रम सञ्चालनको अनुमति प्रदान गर्ने र सिट संख्या निर्धारण गर्ने सहमति भएको छ।
त्यस्तै, नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान ९आर्मी मेडिकल कलेज० मा एमबीबीएस सिट थप गर्ने निर्णय मापदण्डअनुसार भए–नभएको छानबिन गर्न प्रा। डा। रमेशप्रसाद आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिनेछ।
समितिले सरकारलाई प्रतिवेदन बुझाउनेछ। सरकारले प्रतिवेदनको सिफारिस कार्यान्वयन गरेपछि चिकित्सा शिक्षा साझा प्रवेश परीक्षाबाट उत्तीर्ण विद्यार्थीको म्याचिङ गरिने सहमतिमा उल्लेख छ।
कार्यक्रम सञ्चालनको अनुमति वा सिट थप गर्दा मापदण्डविपरीत काम भएको अथवा स्वार्थको द्वन्द्व देखिएमा त्यसमा संलग्न आयोग, विश्वविद्यालय र मेडिकल कलेजका पदाधिकारीलगायतलाई कारबाहीको दायरामा ल्याइनेछ।
२. दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन संशोधन
दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ मा विश्वविद्यालयका पदाधिकारीको योग्यता र नियुक्तिलगायतका विषयमा आवश्यक संशोधन गरिनेछ।
यसका लागि दुई हप्ताभित्र मन्त्रिपरिषद्बाट अध्यादेश जारी गर्ने प्रक्रिया अगाडि बढाउने सहमति भएको छ। अध्यादेश जारी भएपछि नयाँ पदाधिकारी नियुक्तिको प्रक्रिया तत्काल सुरु गरिनेछ।
यस विषयमा डा। गोविन्द केसीले दिएका सुझावअनुसार नै प्रक्रिया अगाडि बढाइने सहमतिमा उल्लेख छ।
३. यसअघिको सहमति कार्यान्वयन गर्ने
डा. केसीको २४औँ सत्याग्रहका क्रममा २०८३ साउन ११ गते सरकारसँग भएको सहमतिका कार्यान्वयन हुन बाँकी बुँदाहरू अक्षरशः पालना गर्ने सहमति भएको छ।
४. सहमति कार्यान्वयन अनुगमनका लागि कार्यदल गठन
६ बुँदे सहमति कार्यान्वयनको अनुगमन गर्न संयुक्त कार्यदल गठन गरिने भएको छ।
कार्यदलमा सरकारका तर्फबाट शिक्षा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार शैलेन्द्र झा र मन्त्रालयका एक सहसचिव रहनेछन्। डा. गोविन्द केसीका तर्फबाट विजयबाबु शिवाकोटी र डा. अमृत जैसी सहभागी हुनेछन्।
त्यस्तै, सांसद पुकार बम र नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. बद्री रिजाल पनि कार्यदलमा रहनेछन्। कार्यदलले महिनामा कम्तीमा एकपटक बैठक गर्ने सहमति भएको छ।
५. विभिन्न जिल्लामा सरकारी मेडिकल कलेज स्थापना
डडेलधुरा, इलाम र उदयपुरमा सरकारी मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न सरकारले बजेट विनियोजनलगायत पूर्वाधार विकासका कामलाई तीव्रता दिने सहमति भएको छ।
त्यस्तै, बर्दिबासमा मेडिकल कलेज स्थापना तथा सञ्चालनको प्रक्रिया तत्काल अगाडि बढाइने भएको छ।
६. सत्याग्रहका कार्यक्रम अन्त्य
सरकारसँग ६ बुँदे सहमति भएपछि डा. गोविन्द केसीले २०८३ कात्तिक २१ गतेदेखि सत्याग्रहका सम्पूर्ण कार्यक्रम अन्त्य गर्ने सहमति गरेका छन्।


विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 



