रसुवा भोटेकोशी बाढीबाट क्षतिग्रस्त स्याफ्रुबेशीमा पहिलोपटक चिकित्सकसहितको निशुल्क स्वास्थ्य शिविर
३५० भन्दा बढी नागरिकको स्वास्थ्य परीक्षण
रसुवा, १४ कात्तिक । गत १० भदौमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएको रसुवाको स्याफ्रुबेशी बजार तथा आसपासका क्षेत्रमा पहिलोपटक चिकित्सक सहितको निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।
विपद्पछि प्रभावित नागरिकलाई स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्ने उद्देश्यले गोसाईंकुण्ड गाउँपालिका, अमेरिकियर्स, विजय विकास स्रोत केन्द्र र नेपाल चिकित्सक संघको संयुक्त आयोजनामा गत कात्तिक १० देखि १२ गतेसम्म स्वास्थ्य शिविर सञ्चालन गरिएको हो।
शिविरमार्फत ठुलोस्याफ्रु, स्याफ्रुबेशी, भार्खुलगायतका स्थानका ३५० भन्दा बढी नागरिकको स्वास्थ्य परीक्षण गरिएको गोसाईंकुण्ड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विमलकुमार घिमिरेले जानकारी दिए।
स्वास्थ्य परीक्षणका लागि एमडीजीपी विशेषज्ञ चिकित्सक एक जना, मेडिकल अधिकृत दुई जना तथा गाउँपालिकाका स्वास्थ्यकर्मीहरू परिचालन गरिएको थियो। बाढीपछि प्रभावित क्षेत्रमा स्वास्थ्य परीक्षण तथा उपचारका लागि चिकित्सकहरू पहिलोपटक पुगेको घिमिरेले बताए।
शिविरमा स्थानीय नागरिकहरूको स्वास्थ्य परीक्षण, आवश्यक परामर्श तथा स्वास्थ्य समस्याअनुसार उपचार र सेवा प्रदान गरिएको थियो। बाढीका कारण जनजीवन प्रभावित हुनुका साथै स्वास्थ्य सेवाको पहुँचमा समेत कठिनाइ भइरहेको अवस्थामा सञ्चालन गरिएको शिविरले स्थानीय बासिन्दालाई राहत पुगेको छ।
विपद्पछिको कठिन परिस्थितिमा प्रभावित नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै स्वास्थ्य सेवा उपलब्ध गराउन सहकार्य गर्ने आयोजक संस्था, सहयोगी संघसंस्था तथा खटिने सम्पूर्ण स्वास्थ्यकर्मीहरूप्रति गाउँपालिकाले आभार व्यक्त गरेको छ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




