आँखा जोगाउन वर्षमा कम्तीमा एकपटक परीक्षण गर्न विज्ञको सुझाव
काठमाडौं २३ असोज । नेपालमा अहिले पनि आँखा स्वास्थ्यमा त्यति ध्यान दिने गरेको पाईदैन । अधिकांश नेपालीको बानी अहिले पनि आँखामा समस्या देखिएपछि मात्र चिकित्सककहाँ जाने प्रवृत्ति छ ।यस्तो प्रवृत्तिले दृष्टि गुम्ने जोखिम बढाउन सक्ने भन्दै नेत्र स्वास्थ्य विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । उनीहरुले बालबालिकादेखि वृद्धवृद्धासम्म सबैले नियमित रूपमा आँखा परीक्षण गराउनुपर्ने बताएका छन्।
विश्व दृष्टि दिवसका अवसरमा महाराजगञ्जस्थित बीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रले बिहीबार आयोजना गरेको कार्यक्रममा विज्ञहरूले रोकथाम तथा उपचारबाट बचाउन सकिने दृष्टि समस्याको समयमै पहिचान र उपचारमा जोड दिएका हुन्।
कार्यक्रममा बोल्दै केन्द्रकी कार्यकारी निर्देशक एवं आँखा विशेषज्ञ प्राडा मिनु चौधरीले नेपालमा आँखा स्वास्थ्यमा ध्यान नदिदा दृष्टि गुम्ने समस्या भएको भन्दै यस तर्फ आम नागरिक सचेत हुन आग्रह गरिन् । उनले कम्तीमा बर्षमा एक पटक बालबालिका देखि बृद्ध बृद्धा सम्मले आँखा जाँच गर्ने बानीको विकास गर्नु पर्ने बताईन ।
नेपालमा दृष्टि गुम्नुका प्रमुख कारणमध्ये मोतीबिन्दु प्रमुख रहेको उल्लेख गर्दै प्राडा जलविन्दु, डायबेटिक रेटिनोप्याथी, एज रिलेटेड म्याकुलर डिजेनेरेसन, चोटपटक तथा दृष्टिदोष पनि महत्वपूर्ण कारण रहेको बताईन् ।

कार्यक्रममा महाराजगञ्ज मेडिकल क्याम्पसका प्रमुख प्राडा सुरेश उप्रेतीले आँखालाई माया गर्ने, जोगाउने कार्यमा व्यक्ति स्वयं लाग्नु पर्ने भन्दै विश्व दृष्टि दिवसले त्यसबारेमा सचेतना फैलाउन सहयोग पुग्ने बताए । उनले लायन्स नेत्र अध्ययन् केन्द्रले आँखा स्वास्थ्यमा गरेको योगदानको चर्चा समेत गरे ।
केन्द्रका पूर्व निर्देशक एवं न्याम्सका पूर्व उपकुलपति प्राडा डीएन साहले आँखा स्वास्थ्यसम्बन्धी सेवा सबै नागरिकको पहुँचमा पुग्नुपर्ने बताए। आर्थिक अवस्था कमजोर भएका वा भौगोलिक रूपमा टाढा रहेका नागरिकले पनि सहज रूपमा आँखा परीक्षण तथा उपचार पाउने वातावरण बनाउनुपर्ने उनको भनाई थियो ।
यसैगरी पूर्व निर्देशक प्राडा आनन्द शर्माले आँखा स्वास्थ्यको बारेमा चर्चा गरेका थिए ।
विश्व दृष्टि दिवस हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबार मनाइन्छ। ‘लभ योर आइज’ अर्थात् आफ्ना आँखालाई माया गरौँ भन्ने सन्देशसहित मनाइने दिवसको अवसरमा विज्ञहरूले आँखाको स्वास्थ्यलाई प्राथमिकतामा राख्न आग्रह गरेका थिए ।
विशेषगरी बालबालिकामा हुने दृष्टिदोष समयमै पहिचान भए चस्मालगायतका माध्यमबाट सुधार गर्न सकिने विज्ञहरूको भनाइ छ। तर समयमै उपचार नगरे ‘लेजी आई’ अर्थात् एम्ब्लायोपियाको समस्या हुन सक्ने भएकाले बालबालिकाको नियमित आँखा परीक्षण आवश्यक रहेको उनीहरूले बताए।
पछिल्लो समय मोबाइल, कम्प्युटर तथा अन्य डिजिटल उपकरणको प्रयोग बढेसँगै आँखामा पर्ने असरबारे पनि सचेत हुन विज्ञहरूले आग्रह गरेका छन्। लामो समयसम्म स्क्रिनमा नबस्ने, बीच(बीचमा आँखालाई आराम दिने, पर्याप्त झिम्क्याउने तथा बालबालिकालाई बाहिरी वातावरण र प्राकृतिक प्रकाशमा समय बिताउन दिने सुझाव उनीहरूले दिएका छन्।
विज्ञहरूले कम्तीमा वर्षमा एकपटक आँखा परीक्षण गराउन र आँखामा समस्या देखिएमा ढिला नगरी स्वास्थ्य संस्थामा पुग्न आग्रह गरेका छन्। उनीहरूले रोकथाम गर्न सकिने दृष्टि समस्यालाई समयमै पहिचान र उपचार गर्न सके दृष्टि जोगाउन सकिने बताए।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 


