बालबालिकाको मोटोपन नियन्त्रणका लागि डब्लुएचओको नयाँ निर्देशिका : औषधिभन्दा स्वस्थ जीवनशैलीमा जोड

१७ करोड बालबालिका तथा किशोरकिशोरी मोटोपनबाट प्रभावित, ३४ वर्षमा समस्या चार गुणाले बढ्यो
88
Shares

काठमाडौँ, २२ असोज ।  विश्वभर बालबालिका तथा किशोरकिशोरीमा बढ्दो मोटोपनको समस्या नियन्त्रण गर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पहिलोपटक विशेष उपचार निर्देशिका जारी गरेको छ।

बुधबार सार्वजनिक नयाँ निर्देशिकामा मोटोपन व्यवस्थापनका लागि औषधि वा शल्यक्रियाभन्दा स्वस्थ खानपान, नियमित शारीरिक गतिविधि र दीर्घकालीन व्यवहार परिवर्तनलाई प्राथमिकता दिइएको छ ।

डब्लुएचओका अनुसार सन् २०२४ मा विश्वभर ५ देखि १९ वर्ष उमेर समूहका १७ करोड बालबालिका तथा किशोरकिशोरी मोटोपनसहित बाँचिरहेका थिए। तीमध्ये करिब ७ करोड ५ देखि ९ वर्षका बालबालिका र १० करोड १० देखि १९ वर्षका किशोरकिशोरी छन्।

सन् १९९० मा ५ देखि १९ वर्ष उमेर समूहमा मोटोपनको दर २ प्रतिशत रहेकामा सन् २०२४ मा बढेर ८ प्रतिशत पुगेको छ। अर्थात् तीन दशकभन्दा बढी अवधिमा बालबालिका तथा किशोरकिशोरीमा मोटोपनको समस्या चार गुणाले बढेको छ।

स्वस्थ खानपान र शारीरिक गतिविधिलाई पहिलो प्राथमिकता
नयाँ निर्देशिकाले मोटोपन भएका बालबालिका तथा किशोरकिशोरीका लागि संरचित खानपान, शारीरिक गतिविधि र व्यवहार परिवर्तनसम्बन्धी कार्यक्रम सञ्चालन गर्न सिफारिस गरेको छ।

यस्ता कार्यक्रम व्यक्तिगत रूपमा वा खानपान, शारीरिक गतिविधि र व्यवहार परिवर्तनलाई एकैसाथ समेटेर सञ्चालन गर्न सकिनेछ। डिजिटल स्वास्थ्य सेवामार्फत गरिने हस्तक्षेपलाई पनि डब्लुएचओले सशर्त सिफारिस गरेको छ। तर त्यसका लागि अभिभावक वा हेरचाहकर्ताको निगरानी आवश्यक हुनेछ।

१० वर्षमुनिका बालबालिकालाई औषधि र शल्यक्रिया सिफारिस छैन
डब्लुएचओले जन्मेदेखि देखि ९ वर्ष उमेरका बालबालिकामा मोटोपन घटाउन औषधि, तौल घटाउने शल्यक्रिया वा तौल घटाउने उपकरण प्रयोग नगर्न स्पष्ट सिफारिस गरेको छ।

१० देखि १९ वर्षका किशोरकिशोरीमा भने विशेषज्ञको निगरानीमा सञ्चालन गरिएको जीवनशैली सुधार कार्यक्रमले अपेक्षित परिणाम नदिएपछि मात्र स्वीकृत औषधि प्रयोगबारे विचार गर्न सकिनेछ।

गम्भीर मोटोपन भएका किशोरकिशोरीमा निश्चित मापदण्ड पूरा भएको अवस्थामा तौल घटाउने शल्यक्रियाबारे विचार गर्न सकिने डब्लुएचओले जनाएको छ।

मोटोपनसँगै मानसिक स्वास्थ्यको पनि उपचार
डब्लुएचओले मोटोपनको उपचारलाई केवल तौल घटाउने अभियानका रूपमा नहेर्न आग्रह गरेको छ। उपचारले बालबालिकाको स्वास्थ्य, कार्यक्षमता, मानसिक अवस्था र समग्र जीवनस्तर सुधार गर्ने लक्ष्य राख्नुपर्ने उसको भनाइ छ।

मोटोपनसँगै चिन्ता, डिप्रेसन, आत्मसम्मानमा कमी र भावनात्मक असन्तुलन देखिन सक्ने डब्लुएचओले जनाएको छ। त्यस्तै मोटोपन भएका बालबालिका तथा किशोरकिशोरीले बुलिङ, सामाजिक विभेद र अपमानको सामना गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले मानसिक स्वास्थ्यलाई पनि उपचारको अभिन्न हिस्सा बनाउनुपर्नेमा जोड दिइएको छ।

‘औषधि वा शल्यक्रिया होइन, समग्र सहयोग आवश्यक’
डब्लुएचओको पोषण तथा खाद्य सुरक्षा विभागकी निर्देशक डा. लुज मारिया डे रेगिलले बालबालिका तथा किशोरकिशोरीमा मोटोपन उपचारको आधार औषधि वा शल्यक्रिया नभएको बताएकी छन्।

उनका अनुसार स्वस्थ खानपान, शारीरिक गतिविधि र दिगो व्यवहार परिवर्तनका लागि बालबालिका तथा परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउनु मुख्य प्राथमिकता हुनुपर्छ।

डब्लुएचओले उपचारसँगै मोटोपन रोकथामका लागि स्वस्थ खाना र शारीरिक गतिविधि सहज तथा किफायती हुने वातावरण निर्माण गर्न सरकारहरूलाई आग्रह गरेको छ।

यसका लागि शिक्षा, सहरी योजना, यातायात र सामाजिक सुरक्षासहितका क्षेत्रमा नीति तथा कार्यक्रम आवश्यक रहेको डब्लुएचओको भनाइ छ।

यसैगरी नयाँ निर्देशिकामा बाल्यकालदेखि नै मोटोपनको रोकथाम र प्रभावकारी व्यवस्थापन गर्न सके टाइप–२ मधुमेह तथा मुटुसम्बन्धी रोगजस्ता दीर्घकालीन नसर्ने रोगको जोखिम घटाउन सकिने  उल्लेख छ ।

नयाँ निर्देशिकाले बाल्यकालदेखि किशोरावस्था हुँदै वयस्क अवस्थासम्म मोटोपनको रोकथाम, उपचार र व्यवस्थापनलाई निरन्तर रूपमा अघि बढाउने ‘लाइफ–कोर्स’ दृष्टिकोणलाई जोड दिएको छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *