आमालाई ६ महिना र बुबालाई ४२ दिन प्रसूति बिदाको प्रस्ताव

16
Shares

काठमाडौँ, ३१ भदौ । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन गर्न बनेको विधेयक संसद्मा लैजाने तयारी भएको छ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले बुधबार स्वास्थ्य मन्त्री निशा मेहतासंगको तस्बिर राख्दै सामाजिक सञ्जाल फेसबुकमार्फत प्रस्तावित विधेयकमा आमालाई कम्तीमा ६ महिना र बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा दिने व्यवस्था गरिने बताएकी हुन् ।

मन्त्री गौतमका अनुसार संशोधन विधेयक तयार भइसकेको छ। अब मन्त्रिपरिषद्बाट स्वीकृत गराएर संसद्मा पेस गर्ने तयारी गरिएको छ।

मन्त्री गौतमले व्यस्त जीवन, कामको चाप र बदलिँदो जीवनशैलीका कारण अधिकांश परिवार एक वा दुई सन्तानमा सीमित भइरहेको उल्लेख गरेकी छन्।

यस्तो अवस्थामा मातृत्व र पितृत्वको महत्वपूर्ण समयमा अभिभावकलाई नवजात शिशु र परिवारका लागि पर्याप्त समय उपलब्ध गराउनु राज्यको जिम्मेवारी भएको उनको भनाइ छ।

बच्चा जन्माउनु आमासँग जोडिएको प्राकृतिक प्रक्रिया भए पनि बच्चाको हेरचाह र हुर्काउने जिम्मेवारी आमाको मात्र नभएको मन्त्री गौतमले बताएकी छन्।

अभिभावकत्व आमाबुबा दुवैको संयुक्त जिम्मेवारी भएकाले त्यसैअनुसार कानुनी व्यवस्था गर्न लागिएको उनको भनाइ छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *