विश्वभर १ करोड ९६ लाख बालबालिका अझै पूर्ण खोपबाट बन्चित

काठमाडौं, २४ साउन । विश्वभर नियमित खोप कार्यक्रम सञ्चालन भइरहे पनि सन् २०२५ मा करिब १ करोड ९६ लाख बालबालिका पूर्ण वा पर्याप्त खोपबाट वञ्चित भएका छन्।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र युनिसेफको राष्ट्रिय खोप कभरेजसम्बन्धी पछिल्लो अनुमान अनुसार, तीमध्ये १ करोड ३५ लाख बालबालिकाले कुनै पनि खोप नपाएको अर्थात् ‘जिरो डोज’ अवस्थामा रहेका छन्।
त्यसो त खोपलाई सबैभन्दा लागतप्रभावी सार्वजनिक स्वास्थ्य हस्तक्षेपमध्ये एक मानिन्छ।
यसले हरेक वर्ष अनुमानित ४४ लाख मानिसको ज्यान जोगाउने गरेको छ।
तर, कोभिड–१९ महामारीपछि खोप सेवामा सुधारका प्रयास भइरहे पनि विश्वव्यापी कभरेज अझै सन् २०१९ को पूर्व–महामारी अवस्थाभन्दा पूर्ण रूपमा माथि उठ्न सकेको छैन।
सन् २०२५ मा बालबालिकालाई दिइने डिप्थेरिया–टिटानस–पर्टुसिस (डीटीपी-३) खोपको विश्वव्यापी कभरेज ८५ प्रतिशत पुगेको छ। नियमित खोप सेवा कति प्रभावकारी रूपमा सञ्चालन भइरहेको छ भन्ने मापन गर्न डीटीपी-३ लाई महत्वपूर्ण सूचक मानिन्छ। यद्यपि, ‘इमुनाइजेसन एजेण्डा-२०३०’ ले तय गरेको ९० प्रतिशत विश्वव्यापी लक्ष्य अझै पूरा हुन सकेको छैन।
सन् २०२५ मा विश्वका १०७ देशले डीटीपी ३ को कम्तीमा ९० प्रतिशत कभरेज हासिल गरेका छन्।
यो संख्या सन् २०१९ मा १२४ देश थियो।
अर्थात्, महामारीपूर्व अवस्थाको तुलनामा लक्ष्य पूरा गर्ने देशको संख्या घटेको छ।
क्षेत्रगत रूपमा हेर्दा दक्षिण एसियामा डीटीपी-३ कभरेज सबैभन्दा बढी ९२ प्रतिशत रहेको छ भने पश्चिम तथा मध्य अफ्रिकामा सबैभन्दा कम ७१ प्रतिशत रहेको छ। दक्षिण एसिया ९० प्रतिशत वा सोभन्दा बढी कभरेज हासिल गर्ने एक मात्र क्षेत्र बनेको छ।
मध्यपूर्व तथा उत्तर अफ्रिका क्षेत्रमा भने उल्लेख्य सुधार देखिएको छ।
त्यहाँ डीटीपी-३ कभरेज सन् २०२४ को ७९ प्रतिशतबाट बढेर सन् २०२५ मा ८३ प्रतिशत पुगेको छ।
पूर्वी एसिया तथा प्रशान्त, युरोप तथा मध्य एसिया र पूर्वी तथा दक्षिणी अफ्रिकामा पनि कभरेजमा केही सुधार भएको छ।
यद्यपि, सातमध्ये केवल दुई युनिसेफ क्षेत्रले मात्र महामारीपूर्व सन् २०१९ को डीटीपी ३ कभरेजलाई पार गरेका छन्।
ल्याटिन अमेरिका तथा क्यारिबियन र दक्षिण एसियाको कभरेज सन् २०१९ को तुलनामा ३–३ प्रतिशत बिन्दुले बढी भएको छ।
यसको विपरीत मध्यपूर्व तथा उत्तर अफ्रिका ६ प्रतिशत बिन्दु र युरोप तथा मध्य एसिया ५ प्रतिशत बिन्दुले अझै पछाडि छन्।
दादुरा खोपमा पनि ठूलो खाडल
अत्यधिक संक्रामक रोग दादुराले समुदायमा रहेको प्रतिरक्षा कमजोर भएको अवस्था छिट्टै देखाउने भएकाले यसलाई खोप कार्यक्रमको ‘क्यानरी इन द कोलमाइन’ अर्थात् जोखिमको प्रारम्भिक संकेतका रूपमा लिइन्छ।
सन् २०२५ मा दादुराविरुद्धको पहिलो मात्रा एमसीभी १ खोपको विश्वव्यापी कभरेज ८६ प्रतिशत पुगेको छ। तर, अझै करिब १ करोड ९० लाख बालबालिकाले एमसीभी-१ खोप पाएका छैनन्।
दादुराको प्रकोप रोक्न, मृत्यु घटाउन र उन्मूलनको लक्ष्य हासिल गर्न आवश्यक ९५ प्रतिशत कभरेजभन्दा यो दर निकै कम हो।
खोप सेवामा पहुँचको अवस्था पनि देशअनुसार ठूलो फरक देखिएको छ। म्त्एज्ञ लाई नियमित खोप सेवामा पहुँचको सूचकका रूपमा लिँदा यसको कभरेज पपुवा न्युगिनी र यमनमा ४९ प्रतिशतदेखि ४१ देशमा ९९ प्रतिशतसम्म रहेको छ।
विश्वका २५ देशमा डीटीपी – १ कभरेज ८० प्रतिशतभन्दा कम रहेको तथ्यांकले अझै ठूलो संख्यामा बालबालिका नियमित खोप सेवाको पहुँचबाट बाहिर रहेको देखाउँछ।
नौ देशमा विश्वका आधाभन्दा बढी ‘जिरो-डोज’ बालबालिका
विश्वभरका ‘जिरो-डोज’ बालबालिकामध्ये आधाभन्दा बढी केवल नौ देशमा केन्द्रित छन्। ती देशहरुमा नाइजेरिया, प्रजातान्त्रिक गणतन्त्र कंगो, यमन, भारत, इन्डोनेसिया, इथियोपिया, अफगानिस्तान, पाकिस्तान र अंगोला छन्।
तर, धेरै जनसंख्या भएका देशमा खोप कभरेज उच्च भए पनि बालबालिकाको ठूलो संख्या भएकै कारण विश्वव्यापी ‘जिरो–डोज’ तथ्यांकमा उनीहरूको योगदान ठूलो देखिएको बताइएको छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 



