भारतमा डाक्टरको पुर्जीबिना ‘खोकीको झोल औषधी’ बिक्रीमा प्रतिबन्ध

नयाँ दिल्ली । भारत सरकारले डाक्टरको पुर्जी (प्रिस्क्रिप्सन) बिना खोकीको झोल (सिरप) औषधी बिक्री गर्न नपाइने व्यवस्था लागू गरेको छ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयले औषधी सम्बन्धी नियम संशोधन गर्दै ‘सिड्युल–के’ अन्तर्गत रहेको खोकीको सिरपलाई प्रिस्क्रिप्सनबिना बिक्री गर्न मिल्ने औषधीको सूचीबाट हटाएको हो।
यद्यपि, खोकीका चक्की, ट्याब्लेट तथा चुस्ने चक्की (लोजेन्ज) भने यस सूचीमा यथावत् राखिएका छन्।
सरकारले गत वर्षको डिसेम्बरमा यस सम्बन्धी मस्यौदा सार्वजनिक गर्दै सरोकारवालाको सुझाव मागेको थियो। मध्यप्रदेशको छिन्दवाडा जिल्लामा गतवर्ष खोकीको सिरप सेवन गर्दा कम्तीमा २२ बालबालिकाको मृत्यु भएको थियो । यस्तै खोकीको सिरपले राजस्थानमा पनि केही स साना बालबालिकाको ज्यान गएको बताइएको थियो ।
नयाँ व्यवस्था पछि अब के परिवर्तन हुन्छ ?
नयाँ व्यवस्थापछि सर्वसाधारणले नजिकको औषधी पसलबाट सिधै खोकीको सिरप खरिद गर्न पाउने छैनन्। सबै प्रकारका खोकीका सिरप, विशेषगरी कोडिनजस्ता ओपिओइडयुक्त तथा लत लाग्न सक्ने सिरप खरिद गर्न चिकित्सकको प्रिस्क्रिप्सन अनिवार्य हुनेछ।
किन गरियो यस्तो निर्णय ?
भारतमा पछिल्ला वर्षहरूमा खोकीका लागि बनेको भनिएको विषाक्त सिरपका कारण बालबालिकाको मृत्यु हुने घटनाहरू बढ्दै गएका छन्। यही विषयमा गत वर्ष नोभेम्बरमा भारतको सर्वोच्च औषधी नियामक निकायअन्तर्गतको ‘ड्रग कन्सल्टेटिभ कमिटी’को बैठक बसेको थियो।
बैठकमा खोकीमा प्रयोग भएको बिषाक्त सिरपबाट उत्पन्न जोखिमबारे छलफल गर्दै खोकीका सिरपलाई प्रिस्क्रिप्सनबिना बिक्री गर्न मिल्ने सूचीबाट हटाउने प्रस्ताव स्वीकृत गरिएको थियो।
विशेषज्ञहरूका अनुसार डेक्स्ट्रोमेथोर्फानजस्ता केही औषधीय तत्त्व चार वा छ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि उपयुक्त हुँदैनन्। यस्ता औषधी सेवन गर्दा श्वासप्रश्वासमा गम्भीर समस्या आउन सक्ने र मृत्यु समेत हुन सक्ने भएकाले चिकित्सकीय निगरानी आवश्यक रहेको बताइएको छ।
विषाक्त सिरपबाट मृत्युका घटना
मध्यप्रदेशमा बालबालिकाको मृत्युसँग जोडिएको सिरप तमिलनाडुको एक कम्पनीले उत्पादन गरेको थियो। उक्त सिरपमा ४८.६ प्रतिशत ‘डाइइथिलिन ग्लाइकोल नामक विषाक्त पदार्थ भेटिएको थियो, जबकि औषधिमा यसको अधिकतम स्वीकार्य मात्रा ०.१ प्रतिशत मात्र हो।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सन् २०२२ मा गाम्बियामा ७० र उज्बेकिस्तानमा १८ बालबालिकाको मृत्यु भएपछि चेतावनी जारी गरेको थियो। ती घटनाहरू भारतका हरियाणा र उत्तर प्रदेशस्थित कम्पनीहरूले उत्पादन गरेका सिरपसँग सम्बन्धित थिए।
त्यसपछि भारत सरकारले निर्यात गरिने सबै सिरपको अनिवार्य परीक्षणको व्यवस्था गरे पनि देशभित्र बिक्री हुने सिरपमा हुने विषाक्त तत्वको समस्या भने पूर्ण रूपमा समाधान हुन सकेको थिएन।
सन् २०२० मा जम्मु–कश्मीरको रामनगरमा एक कम्पनीले उत्पादन गरेको खोकीको सिरप सेवन गर्दा कम्तीमा १७ बालबालिकाको मृत्यु भएको थियो। परीक्षणका क्रममा उक्त सिरपमा ३४.९७ प्रतिशत डीईजी भेटिएको थियो।
त्यसअघि सन् १९९८ मा गुरुग्राममा उत्पादन गरिएको सिरप सेवन गर्दा ३३ बालबालिकाको मृत्यु भएको थियो। त्यस सिरपमा १७.५ प्रतिशत डीईजी रहेको पाइएको थियो। त्यस घटनापछि तीव्र मिर्गौला फेल भएका करिब १५० बालबालिकालाई दिल्लीस्थित कालावती सरन बाल अस्पतालमा भर्ना गर्नुपरेको थियो।
स्वास्थ्य विज्ञहरूले नयाँ व्यवस्था पछि विशेषगरी बालबालिकालाई जोखिमपूर्ण तथा खोकीका लागि बनेका भनिएका विषाक्त सिरपबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरेका छन् ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 
