फितलो देखियो स्वास्थ्यको प्रशासन, डरै डरमा मन्त्री देखि प्रशासक सम्म

कार्यविधि बनाउन नसकेपछि स्वास्थ्यमा नियुक्तीका लागि मागिएको दरखास्त स्थगित
2.5k
Shares

काठमाडौं, २२ जेठ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रका विभिन्न नौ वटा निकायहरूमा रिक्त रहेका पदाधिकारी र सदस्य नियुक्तिका लागि तीन दिन अघि सुरु आवेदन प्रक्रिया तत्कालका लागि स्थगित गरेको छ। मन्त्रालयले जेठ २० गते सूचना प्रकाशित गरी दरखास्त आह्वान गरेको थियो।

मन्त्रालयले दरखास्त आह्वान गरे पनि आवश्यक कागजातको विवरण सार्वजनिक नगर्दा आवेदन दिन चाहने उम्मेदवारहरू अन्यौलमा परेका थिए।

स्वास्थ्य सचिव डा विकास देवकोटाले रिक्त पदाधिकारीको योग्यता तथा मापदण्डको विषयमा आवश्यक तयारी पुरा नभएकोले स्थगित गर्नु परेको बताए । ‘हामीले सूचना निकाल्नु अघि नै योग्यता तथा मापदण्ड तयार हुनु पर्ने थियो । तर कारणबस त्यसमा ढिलाई हुन गयो । यसले आवेदन दिन चाहनेहरुका लागि अफ्टेरो अवस्था सिर्जना भयो, त्यसैले हालका लागि स्थगित गरेका छौँ । छिटै यो मापदण्ड तयार गरी पुन दरखास्त आव्हान गर्दछौँ,’ डा. देवकोटाले भने ।

मन्त्रालयले आज जारी गरेको स्थगन सम्बन्धी सूचनामा अर्को सूचना केही दिनमै प्रकाशित गरिने बताएको छ ।

कुन कुन निकायका लागि मागिएको छ आवेदन ?

नेपाल आयुर्वेद चिकित्सा परिषद् – अध्यक्ष, सदस्य र रजिष्ट्रार
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् – अध्यक्ष, सदस्य र सदस्य सचिव
नेपाल नर्सिङ परिषद् – अध्यक्ष, उपाध्यक्ष सदस्य र रजिष्ट्रार
नेपाल स्वास्थ्य व्यवसायी परिषद् – अध्यक्ष र रजिष्ट्रार
नेपाल फार्मेसी परिषद् – अध्यक्ष, सदस्य र रजिष्ट्रार
नेपाल मेडिकल काउन्सिल – अध्यक्ष, सदस्य र रजिष्ट्रार
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल – सदस्य
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र – कार्यकारी निर्देशक र सदस्य
स्वास्थ्य बीमा बोर्ड – अध्यक्ष, सदस्य र कार्यकारी निर्देशक

स्वास्थ्यको फितलो प्रशासन संयन्त्र

मन्त्रालयको नाम फेरिएर स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय भए पनि मन्त्रालयको काम गर्ने शैलीमा भने खासै परिर्वन देखिएको छैन । त्यसको पछिल्लो उदाहरण हो नियुक्ती सम्वन्धी आवेदन माग र अहिले स्थगन ।

मन्त्री निशा मेहता आफ्नै सुरमा देखिन्छिन् । सचिवहरु डिल्लीराम शर्मा र विकास देवकोटा आ-आफ्नै तालमा छन् । मातहतका अरु अधिकारीहरु माथिको आदेश अनुसार त भन्छन्, तर आफ्नै पारामा चलि रहेका देखिन्छन् ।

आ-आफ्नै तालमा चल्ने र एक अर्कालाई दोष देखाउने प्रक्रिया बढ्दा समस्या समाधान हुनुको सट्टा झन् झन् बल्झिएको छ ।

‘काममा कति सुस्तता छ भने १० दिनको अवधी तोकेर तीन दिन अघि दरखास्त आव्हान गर्दै गर्दा अनलाइनमा योग्यता र मापदण्ड संगै तयार गर्नुपर्छ भन्ने हेक्का नै राखेनन् । भन्नलाई अलि सुधार गर्ने भनेर स्थगित गरेको भनिए पनि यो मन्त्रालयका अधिकारीहरुको गम्भीर कमजोरी हो,’ स्वास्थ्यका एक पूर्व प्रशासकले भने ।

‘मन्त्रालयको प्रशासन संयन्त्र यति सुस्त भयो कि गत मंसिरमा सुरु गरेको अतिरिक्त स्वास्थ्य सचिवको बढुवा गर्ने प्रक्रिया मन्त्रालयबाट टुंगिन करीब ६ महिना लाग्यो । यद्धपी त्यसको अन्तिम नतिजा अझै आएको छैन ।  क्यान्सरका औषधीको अभाव भएको विषयलाई फास्टट्रयाकमा टुंगो लगाउनु पर्ने थियो, त्यसलाई पनि मन्त्रालय संयन्त्र आलटाल गर्दै बसिरहेको छ । अन्यत्र के भयो थाहा छैन तर स्वास्थ्यमा अल्झाउने र ढिलो काम गर्ने पुरानो शैली अहिले पनि गएको छैन, ती अधिकारीले भने, ‘यी यस्ता स साना प्रतिनिधि उदाहरण मात्रै हुन् । मेसो पाएर काम गर्न सकेका छैनन् ।’

मन्त्रालय संयन्त्र डरै डरमा

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतालाई प्रधानमन्त्री कार्यालयबाट कतिबेला के गर्छ भन्ने डर छ । उनी न नागरिकको गुनासोलाई खुलेर सम्वोधन गर्न सक्छिन् । न सञ्चारमाध्यमबाट आफ्ना अभिव्यक्ति दिन सक्छिन् ।

प्रधानमन्त्री कार्यालयबाट स्पष्ट निर्देशन आएको छ, ‘बाहिर बोल्ने होइन खुरु खुरु काम गर्नु,’ त्यसैले उनी नियुक्त भए देखि न सार्वजनिक समारोहमा देखिन्छन् । न त स्वास्थ्यमा विषयमा बोल्छिन् ।

त्यस्तै निर्देशन सचिवहरुलाई आएको छ ।

उनीहरु डरमा छन् ।

प्रशासन सचिव डिल्लीराम शर्मा सञ्चारमाध्यमसंग कुरा गर्न चाहदैनन् । ‘अहिलेलाई माथिको आदेश छ, तपाईहरुलाई सूचना चाहिए निवेदन लेख्नुहोला,’ उनी भन्छन् ।

स्वास्थ्य समूहका सचिव डा. विकास देवकोटाले धेरै जसो कुराहरु थाहा नै छैन भनेर टारिदिन्छन् ।

मन्त्रालयको नयाँ प्रवक्ता यसोदा अर्याल सूचना दिन अफ्टेरो मान्ने गर्छिन । धेरै जसो मोवाइल अफ नै हुन्छ । अन भयो र उठ्यो भने ‘बुझेर भन्छु,’ ‘आधिकारिक जानकारी नै आएको छैन’ भन्ने जस्ता जवाफले टार्ने गर्छिन ।

त्यस मुनिका कर्मचारीहरुलाई कुनै पनि खालका सूचना दिएमा राम्रो नहुने भन्दै ‘थ्रेट’ गरिएको छ ।

‘जुनसुकै बेला जे पनि हुन्छ भन्ने छ । डरमा रहेर त कसरी काम हुन्छ ? कसरी नतिजा आउँछ ? त्यसैले जे भइरहेको छ राम्रो भएको छैन,’ मन्त्रालयका एक अधिकारीले भने ।

‘पहिला साह्रै खुल्ला भयो भनेर नियन्त्रण गर्न खोजिएको होला तर यति धेरै नियन्त्रण गर्दा त्यसले विस्फोटको रुप लिन सक्छ भन्ने तिर पनि हेक्का राख्नु पर्छ । स्वास्थ्यमा विस्फोट हुने डर देखिदैछ । यसरी स्वास्थ्य चल्दैन,’ ती अधिकारीले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *