पाटन अस्पतालमा पहिलोपटक कोर्निया प्रत्यारोपण, आँखा उपचारमा नयाँ कोशेढुङ्गा

56
Shares

ललितपुर, २४ असोज ।  पाटन अस्पतालमा पहिलोपटक कोर्निया प्रत्यारोपण गरिएको छ। विश्व दृष्टि दिवसको अवसरमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको आँखा रोग विभागले ६३ वर्षीया महिलामा सफलतापूर्वक कोर्निया प्रत्यारोपण गरेको हो।

सुडोफ्याकिक बुलस केराटोप्याथी (Pseudophakic Bullous Keratopathy) नामक समस्याबाट पीडित ती महिलामा कोर्निया विशेषज्ञ डा. अनिमा देशारको नेतृत्वमा शल्यक्रिया गरिएको हो।

शल्यक्रिया टोलीमा मुख्य शल्य चिकित्सकका रूपमा डा. देशारसहित साङ्गिरुवा र क्रिस्टी सहभागी थिए। त्यस्तै, रेट्रोबल्बार ब्लक (Retrobulbar Block) को जिम्मेवारी डा. सुमित सिंह महर्जनले सम्हालेका थिए।

शल्यक्रियामा रेजिडेन्ट चिकित्सकहरू डा. प्राप्ति, डा. प्रभा, डा. प्रियंका, डा. निशा र  प्रदीप पटेल सहभागी थिए। विभागका अन्य विशेषज्ञहरू डा. रञ्जना शर्मा, डा. पवन महत, डा. सुमित सिंह महर्जन  र डा. निशा श्रेष्ठ राजभण्डारीलगायत आँखा स्वास्थ्य क्षेत्रका दक्ष चिकित्सक तथा रेजिडेन्ट डाक्टरहरूको महत्त्वपूर्ण योगदान रहेको थियो।

कोर्नियामा क्षति पुगेर दृष्टिसम्बन्धी गम्भीर समस्या भएका बिरामीलाई उपचार सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालले कोर्निया प्रत्यारोपण सेवा सुरु गरेको हो।

प्रत्यारोपण सफल बनाउन सहयोग गरेको भन्दै अस्पतालले नेपाल आँखा बैंक तथा आँखा दान गर्ने दाता र उनका परिवारप्रति विशेष आभार व्यक्त गरेको छ।

आँखा रोग विभाग प्रमुख डा. रञ्जना शर्माका अनुसार पाटन अस्पतालमा कोर्निया प्रत्यारोपणका अतिरिक्त मोतिबिन्दु, जलबिन्दु तथा आँखाको पर्दासम्बन्धी शल्यक्रियालगायत विभिन्न जटिल आँखा उपचार सेवा पनि उपलब्ध हुँदै आएका छन्।

कोर्निया प्रत्यारोपण सेवा थपिएसँगै आँखाको जटिल समस्या भएका बिरामीले पाटन अस्पतालबाटै थप उपचार सेवा प्राप्त गर्न सक्नेछन्। यसले अस्पतालको आँखा उपचार सेवालाई थप विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *