स्वास्थ्य बीमा कार्यक्रममा अनियमितता बढे पछि बोर्डद्धारा सेवा प्रदायकलाई कडाइ

काठमाडौँ, २४ चैत । स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सेवा प्रवाहमा विभिन्न प्रकारका अनियमितता देखिएको भन्दै स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई कडा निर्देशन जारी गरेको छ।
सेवाका विषयमा बीमितहरूबाट बाट व्यापक गुनासो आउन थालेपछि बोर्डले सोमबार सूचना प्रकाशित गर्दै नियम उल्लङ्घन गर्ने संस्थामाथि कारबाही गर्ने चेतावनी दिएको हो।
के गुनासो के कारवाही ?
बोर्डका अनुसार केही स्वास्थ्य संस्थाहरूले बीमा सेवा अन्तर्गत समावेश भएका औषधी तथा औषधीजन्य सामग्रीहरू समेत बीमितलाई बाहिरका औषधी पसलबाट नगदमा किन्न बाध्य पारेको पाइएको छ। यस्तो कार्यले बीमाको मर्मविपरीत भएको जनाउँदै बोर्डले अब यस्ता गतिविधि तत्काल रोक्न निर्देशन दिएको छ। बोर्डले यदि यस्तो कार्य गरेको पाइएमा स्वास्थ्य बीमा नियमावली, २०७५ अनुसार कारबाही गरिने जनाएको छ ।
त्यस्तै, बोर्डले केही सेवा प्रदायक संस्थाहरूले बीमितलाई सेवा लिन अग्रिम समय लिन बाध्य बनाउने तथा अन्य बिरामीको तुलनामा भेदभावपूर्ण व्यवहार गर्ने गुनासो पनि प्राप्त भएको जनाएको छ। बोर्डले यस्ता गतिविधिहरुलाई गम्भीर रूपमा लिएको भन्दै पुनः दोहोरिएमा स्वास्थ्य बीमा ऐन, २०७४ अनुसार कारबाही गर्नुका साथै सम्बन्धित संस्थासँग भएको सम्झौता समेत रद्द गर्न सकिने चेतावनी दिएको छ।
यसैगरी बोर्डले औषधि, सामग्री तथा सम्पूर्ण सेवाहरूको शुल्कसम्बन्धी विषयमा पनि स्पष्ट निर्देशन दिएको छ। बीमा सुविधाअन्तर्गत उल्लेखित दररेटभन्दा कममा दाबी नगर्न र न्यूनतम दरमा सेवा दाबी गर्नुपर्ने व्यवस्था रहेको जनाइएको छ। साथै, सबै दाबी तथा सेवा विवरणहरू अनिवार्य रूपमा एपीआई मार्फत बीमा व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट गर्नुपर्ने बताइएको छ।
सञ्चालनको दश वर्ष पुग्नै लाग्दा स्वास्थ्य बीमा बोर्डले सबै सेवा प्रदायक संस्थाहरूलाई निर्धारित मापदण्ड पालना गर्दै बीमितमैत्री, पारदर्शी र गुणस्तरीय सेवा सुनिश्चित गर्न आग्रह गरेको छ। साथै, बीमितहरूलाई अनावश्यक आर्थिक भार नपर्ने वातावरण बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिएको छ।
विसं २०७२ साल चैत २५ गते कैलालीबाट सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम अहिले देशव्यापी बनेको छ । तर यसमा आवद्धता भने अपेक्षाकृत बढ्न सकेको छैन ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 