तीन सय ४७ बालबालिका कुपोषित

28
Shares

काठमाडौं, ११ असार । वैशाख महिनामा गरिएको राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रमका बेला टीकापुरमा बालबालिकामा कुपोषणको जोखिम धेरै देखिएपछि पालिकाले पोषण सुधारका लागि छलफल थालेको छ ।

टीकापुरमा वैशाखमा गरिएको पोषण लेखाजोखा तथ्याङ्कअनुसार पाँच वर्षमुनिका ७५ बालबालिका शीघ्र कुपोषणको जोखिममा छन् भने २७२ जना मध्यम कुपोषित भेटिएका छन् ।

पालिकाले कुपोषित बालबालिका धेरै देखिएपछि महिला स्वास्थ्य स्वयंसेविकालाई तालिम दिएर फेरि ‘स्क्रिनिङ’ थालिएको जनाएको छ ।

“टीकापुर नगरपालिकाले बालबालिकाको पोषण अवस्था सुधारका लागि प्राथमिकता दिएको छ । अभियानका क्रममा १ हजार ८ सय ६४ बच्चाको पोषण परीक्षण गरिएको थियो”, स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावल भन्छन्, “कुपोषित बालबालिकाको पोषण सुधारमा थप प्राथमिकता दिएर काम गर्नुपर्ने भएकाले महिला स्वास्थ्य स्वयंसेविकालाई पोषण सुधारबारे थप तालिम दिन थालेका छौँ ।”

पालिकाले वडा वडामा स्वास्थ्य संस्था स्थापना गरी गर्भावस्थादेखि नै पोषण सुधारका लागि विभिन्न प्रयास गर्दै आएको र कुपोषित बालबालिकालाई पाँच वटा संस्थाबाट उपचारात्मक खाना खुवाउने गरेको रावलको भनाइ छ ।

स्वयंसेविकासँगको छलफलमा छ महिनादेखि ५९ महिनासम्मका बालबालिकाको पोषण अवस्था पहिचान, मूल्याङ्कन र आवश्यक उपचारमा विशेष ध्यान दिने योजना सहित छलफल गरिएको छ ।

अझै समुदायस्तरमा पोषण सुधारका लागि स्वयंसेविकामार्फत सचेतना फैलाउनुपर्ने, बाल भिटाको प्रयोग बढाउनुपर्ने रावल बताउँछन् । “स्वयंसेविकाले समुदायमा गर्भावस्थादेखि नै पोषणसम्बन्धी ज्ञान, व्यवहार परिवर्तन र सेवामा पहुँच बढाउन सघाउनुका साथै कुपोषण न्यूनीकरण तथा स्वास्थ्य सुधारमा सघाइरहको छन्”, उनी भन्छन्, “आमा र बच्चाको पोषण सुधारका लागि स्वयम सेविका, स्वास्थ्यकर्मी, सरकार मात्र होइन परिवार नै जिम्मेवार बन्नुपर्ने आवश्यकता छ ।”

टीकापुर नगरपालिका–५ का महिला स्वास्थ्य स्वयंसेविका चन्द्रादेवी चौधरी पोषण सुधारका लागि हजार दिनका आमालाई प्राथमिकता दिएर परामर्श दिने र स्वास्थ्य सेवा लिन सघाउने गरेको बताइन् । “हामीले महिला गर्भवती भएको थाह पाएदेखि खानपान, रहनसहन, नियमति जाँचबारे जानकारी दिन्छौँ”, चन्द्रादेवी भन्छिन्, “हामीले रातदिन काम गर्दा पनि परिवार जिम्मेवार नबन्दा पाँच वर्षमुनिका बालबालिकाको पोषण अवस्था सोचेजस्तो हुन सकेको देखिँदैन ।”

स्वयंसेविकाले भिटामिन ए, जुकाको औषधि तथा अन्य पोषण कार्यक्रम सञ्चालनमा सघाउने गरेका छन् । यसका साथै स्वास्थ्यकर बानीबारे समेत जानकारी दिने, पोषणयुक्त खानपानबारे जानकारी दिने गरेका वडा नं ३ का स्वयम सेविका चन्द्रा चौधरी बताउँछिन् । “हामीलाई समुदायका मानिसका आर्थिक अवस्था, पारिवारिक अवस्था सबै थाह हुन्छ”, उनी भन्छिन्, “पोषण सुधारका लागि परिवार मुख्य जिम्मेवार बन्नुपर्छ ।”

पालिकाले पोषण सुधारमा परिवारलाई जिम्मेवार बनाउन सुत्केरीलाई पोषण सामग्री दिने गरेको छ । टीकापुर –४ ले ५० जना सुत्केरीलाई पोषण सामग्री वितरण गरेको छ ।

पचास जना सुत्केरीलाई आधा किलो घ्यू र एक क्यारेट कुखुराको अण्डा वितरण गरिएको टीकापुर ४ का वडाध्यक्ष लालविर चौधरीले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *