कवाडीको काम गर्ने प्लस टू साइन्सका विद्यार्थी नन्दकिशोरको जब मिर्गौला फेल भयो……

48
Shares

काठमाडौँमा कवाडीको काम गर्ने नन्द किशोर यादव ‘प्लस टू साइन्स’का विद्यार्थी हुन् । गढीमाई नगरपालिका- १, हरैयाका उनी यादव परिवारका जेठा सन्तान हुन् ।

‘आर्थिक अवस्था कमजोर थियो । रोजगारीको खोजीमा गाउँ छाडेर काठमाडौँ आएँ । यहाँ पनि भन्ने बित्तिकै राम्रो काम कहाँ पाउनु ? त्यसैले कवाडी सामान उठाउने काम गर्न थालेँ । तर २१ वर्षको उमेरमै म माथि बज्रपात भयो । मेरो मिर्गौला दुबै फेल भयो,’ आफ्नो विगत कोट्याउँदै यादवले भने ।

सानै उमेरमा बिहे गरेका यादव दुई छोराका पिता हुन् । उनले आफ्ना छोराहरुलाई बोर्डिङ स्कुलमा पढाई रहेका छन् ।  श्रीमतीले छोराहरुको स्याहार सुसार गर्छिन् ।

‘काठमाडौँको महंगी, छोराछोरीको पढाई, चार परिवार गुजाराका लागि संघर्ष त गर्नै पर्ने थियो । त्यसमाथि मलाई यो ‘खर्चालु रोग’ लाग्यो,’ यादवले अगाडी थपे, ‘मुटुको धडकन बढेको जस्तो हुने समस्या भएपछि सुरुमा ओम अस्पतालमा गएँ । त्यहाँ जाँच गर्दा नै मिर्गौलामा समस्या आएको र डायलासिस गर्नु पर्छ भन्नु भयो । त्यहाँका डाक्टरले मेरो आर्थिक अवस्था बुझेर ओम अलि महंगो छ भनेर जोरपाटीको नेपाल मेडिकल कलेजमा रिफर समेत गरिदिनु भयो । त्यहाँ मेरो उपचार प्राडा प्रमोदकुमार क्षेत्रीले गर्नु भएको हो ।’

डायलासिस गर्दै कवाडीको सामान ओसार्दै गरेका उनको फिस्टुला तीन वर्षमा ड्यामेज भयो । त्यसपछि फेरी अर्को फिस्टुला तयारी गरिदिए ।

तर डायलासिसले उनी झन् झन् आफ्नो जीवन सिथिल बन्न थालेको आभास पाए ।

पढाईमा तगडा थिए, चिकित्सकलाई आफ्नो मनमा लागेको कुरा सुनाउँथे र सोद्धथे पनि । एक दिन चिकित्सकले प्रत्यारोपणको तयारीमा जानु पर्छ भने । यादवलाई लाग्यो ‘तर कसरी ?’ उनले भित्र भित्रै सोचमग्न भए । उपाय निकाले, चन्दा उठाउने ।

५ – ६ लाख रुपैयाँ चन्दा उठ्यो, त्यसपछि प्रत्यारोपणका लागि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर लागे ।

‘मेरो प्रत्यारोपण २०७९ साल साउन २२ गते भएको हो । मेरो ६० वर्षीया आमा सम्झरिया देवीले मलाई मिर्गौला दिनु भएको हो, उनले त्यसबेला सम्झें, ‘प्रत्यारोपण केन्द्रमा मलाई सुरुमा डा. विक्रम र पछि डा. सुमित आचार्यले हेर्नु भएको हो । डा. सुमितले अहिले फलोअपमा पनि हेरि रहनु भएको छ ।’

यादवले आफूलाई के कारणले मिर्गौला रोग लाग्यो भन्न सक्दैनन् । ‘डाक्टरले नै पनि के कारणले मेरो मिर्गौला फेल भयो भनेर भन्न सक्नु भएको छैन भने म कसरी भनु ?’ प्रति प्रश्न गर्दै उनी भन्छन, ‘तर अब त्यो कारण खोज्न तिर लाग्दिन पनि बाँकी जीवनलाई सहज तरिकाले अघि बढाउने उपाय खोज्दैछु ।’

यादवले अब भने काठमाडौँमा अलि हलुका काम गर्न खोजेका छन् । तर भने जस्तो काम उनले अझै पाएका छैनन् ।

‘गर्न त म अहिले पनि काठमाडौँमा कवाडीको सामान उठाउने काम गर्छु । तर डाक्टरले पनि भन्नु भएको छ र मलाई पनि लागेको छ, साइकलमा कवाडी सामान उठाएर हिड्न अलि गाह्रो हुन्छ जस्तो लागेको छ । यो भन्दा अलि सजिलो काम पाएँ भने म धेरै भाग्यमानी हुन्थ्थें । म अहिले पनि विद्यालय तहको गणीत विज्ञान विषय पढाउन सक्छु । कम्प्युटरमा छ महिने कोर्ष डिप्लोमा पनि गरेको छु । कुनै कार्यालय वा स्कुलमा बसेर पढाउने वा अरु हलुका खालको काम गर्न पाएँ भने म निकै नै भाग्यमानी ठान्थें,’ रोजगारीका लागि कतैबाट सहयोग हुन्छ भन्ने आशाका साथ उनले भने ।

जीवन संघर्ष हो भन्ने राम्ररी बुझेका यादवलाई विगत प्रति गुनासो छैन् ।

‘वर्तमानमा जिउने हो, भविस्य राम्रो होस भनेर कामना गर्ने हो र साथमा कर्म पनि गर्ने हो,’ उनले अगाडी थपे, ‘अवको मेरो ध्येय, शारीरिक रुपमा हलुका काम गर्ने र परिवार, छोराछोरीलाई राम्रो पढाउने र उनीहरुको भविस्य सुरक्षित गर्न सहयोग गर्ने भन्ने नै हो ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *