‘लुकेका क्षयरोगी, भेटाउने कसरी ?’
काठमाडौँ, १७ भदौ । नेपालमा क्षयरोगबाट गतवर्ष मात्रै १६ हजार बढीको मृत्यु भएको अनुमान छ । सोही वर्ष ६८ हजार नयाँ क्षयरोगी थपिएको अर्को अनुमान छ । तर नेपालको सरकारी संयन्त्र अनुमानको नजिक अझै पुग्न सकेको छैन ।
राष्ट्रिय क्षयरोग केन्द्रको तथ्यांकमा आर्थिक वर्ष २०८१ ०८२ मा क्षयरोगबाट मृत्यु भएको संख्या १ हजार २८० रहेको छ । यस्तै केन्द्रले सोही वर्ष क्षयरोग संक्रमित नयाँ बिरामी ३९ हजार ११८ जना थपिएको जनाएको छ ।
सोमबार स्वास्थ्य पत्रकार मञ्च नेपालको समन्वयमा केन्द्रले आयोजना गरेको पत्रकार अन्तर्क्रिया कार्यक्रममा निर्देशक डा. श्रीराम तिवारीले क्षयरोगको वर्तमान अवस्था र भावी लक्ष्य सुनाएका थिए ।
नेपालले सन् २०३५ सम्ममा प्रति एक लाख जनसंख्यामा क्षयरोगीको संख्या १० भन्दा कममा झार्ने लक्ष्य लिएको छ । यस्तै सन् २०५० सम्ममा प्रति १० लाख जनसंख्यामा संक्रमितको संख्या १ भन्दा कममा खुम्च्याउने उदेश्य लिएको छ । डा. तिवारीले सोही अनुसार नयाँ रणनीति र कार्यक्रमहरु अघि बढाइएको समेत बताए ।
‘खासमा अहिले हामीले अनुमान गरेको र भेटिएको संख्यामा केही ग्याप देखिएको छ, यो ग्यापलाई कम गर्ने अबको नीति हो । त्यसैले हामीले स्थानीय तहसम्म यस कार्यक्रमलाई अभियानका रुपमा लगेका छौँ । टिवि फ्रि पालिका बनाउनका लागि टिवि फ्रि कार्यक्रमहरु अघि बढाएका छौँ । १४९ वटा पालिकामा यो कार्यक्रम लागू भई सकेको छ । चालु आर्थिक वर्षमा थप १०० वटा पालिकामा यो कार्यक्रम लैजाने छौँ ,’ डा. तिवारीले क्षयरोगको अवस्था र केन्द्रले गर्ने योजना सुनाउँदै भने ।
क्षयरोग समयमै पत्ता लागि नियमित औषधी सेवन गर्दा पूर्ण रुपमा निको हुन्छ । सरकारले परीक्षण तथा उपचार निशुल्क गरेको छ । क्षयरोगको प्रभावकारी र छिटो पहिचानका लागि ११८ वटा जीन एक्सपर्ट मेसिन देशका विभिन्न भागमा सञ्चालन गरिएको छ । यसपटक मात्रै क्षयरोग पहिचानमा अझ अत्याधुनिक मानिएको थप ८ वटा मोलिक्युलर डब्लुएचओ रिकोमेन्डेड रेपिड डाग्नोस्टिक (एमडब्लुआरडी) मेसिन सरकारले खरीद गरी विभिन्न ठाउँमा पठाउँदै छ । मल्टी ड्रग रेजिस्टेन्स (एमडीआर) टीबी को खतरा अलि बढी छ, उपचार झन्झटिलो र महंगो पनि छ । त्यसैले सरकारले डीआर टीबीका बिरामीलाई महिनामा ३ हजार रुपैयाँ नगद समेत उपलव्ध गराउन गरेको छ ।
डा. तिवारीले यी सबका बावजुत लुकेका बिरामी पत्ता लगाउनु अहिलेको चुनौती भएको पटक पटक दोहोर्याए ।
कार्यक्रममा क्षयरोग विज्ञ डा. नवीनप्रकाश शाहले क्षयरोग कसरी लाग्छ, कस्ता व्यक्तिहरुलाई बढी जोखिम हुन्छ ? उपचार कसरी कहाँ गर्ने भन्ने विषयमा बताएका थिए ।
‘साँझ पख हल्का ज्वरो, दुई हप्ता भन्दा बढी लगातार खोकी लाग्नु, खाना खान मन नलाग्नु, तौल घटनु र कमजोर महसुस हुनु, साँझपख पसिना आउनु, छाती दुख्नु र खकारमा रगत देखा पर्नु क्षयरोगका लक्षण तथा चिन्हहरु हुन्,’ डा. शाहले भने, ‘यस्तो लक्षण तथा चिन्ह देखिएमा तत्काल चिकित्सकको परामर्शमा जानु पर्दछ ।’
सो क्रममा उनले फोक्सोमा लाग्ने क्षयरोग र फोक्सो बाहेक शरीरको अन्य भागमा लाग्ने क्षयरोगबारेमा सम्झाएका थिए ।
उनले कुपोषित व्यक्ति, धूमपान प्रयोगकर्ता, मधुमेहबाट ग्रसित व्यक्ति, अल्कोहल प्रयोगकर्ता र एचआईभी संक्रमित व्यक्तिहरुलाई क्षयरोग लाग्ने सम्भावना बढी भएको बताए ।
कार्यक्रमको सहजीकरण राष्ट्रिय क्षयरोग केन्द्रका उपसचिव वीरबहादुर रावलले गरेका थिए ।
कार्यक्रममा २० वढी स्वास्थ्य पत्रकारको सहभागिता थियो ।
सम्पर्क इमेल : [email protected]