देशका विभिन्न स्थानमा ट्रमा सेन्टर विस्तार तयारीमा छौँ : स्वास्थ्य मन्त्री मेहता

राष्ट्रिय ट्रमा सेन्टरमा बिरामीको चाप बढ्दो
28
Shares

काठमाडौँ, ३१ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दुर्घटनामा परेका नागरिकलाई समयमै गुणस्तरीय उपचार उपलब्ध गराउन देशका विभिन्न स्थानमा ट्रमा सेन्टर विस्तार गर्ने र उपचारपछि सामान्य जीवनमा फर्किन सहयोग पुर्‍याउन पुनर्स्थापना केन्द्र निर्माण गर्ने काम अघि बढाइएको बताएकी छन् ।

ट्रमा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले राजधानीमा मात्र नभई देशका विभिन्न भूभागमा रहेका नागरिकले पनि समयमै आकस्मिक स्वास्थ्य सेवा पाउने व्यवस्था गर्न ट्रमा उपचार सेवाको पहुँच विस्तार गरिरहेको बताएकी हुन् । मन्त्री मेहताले दुर्घटनामा परेका व्यक्तिको जीवन बचाउनुका साथै उपचारपछि पुनः सामान्य जीवनमा फर्काउन आवश्यक सहयोग र सेवा उपलब्ध गराउनु पनि उत्तिकै महत्त्वपूर्ण बताईन ।

मन्त्री मेहताले सडक दुर्घटना, प्राकृतिक विपद् तथा अन्य आकस्मिक घटनाबाट हुने मानवीय क्षति न्यूनीकरण गर्नु राज्य, स्वास्थ्य क्षेत्र र समग्र समाजको साझा जिम्मेवारी भएको उल्लेख गर्नुभयो। दुर्घटनापछि घाइतेको जीवन रक्षा गर्न समयमै उद्धार, घटनास्थलमै प्राथमिक उपचार, शीघ्र अस्पताल पुर्‍याउने व्यवस्था र गुणस्तरीय आकस्मिक उपचारको महत्त्वपूर्ण भूमिका रहने बताईन् ।

गम्भीर घाइतेको उपचारमा केही मिनेटको ढिलाइले समेत जीवन र मृत्युबीचको अन्तर सिर्जना गर्न सक्ने भएकाले आकस्मिक स्वास्थ्य सेवालाई थप प्रभावकारी र व्यवस्थित बनाउन आवश्यक रहेको मन्त्री मेहताले बताउनुभयो। यसका लागि एम्बुलेन्स सेवाको प्रभावकारिता बढाउने, स्वास्थ्य संस्थाबीच समन्वय सुदृढ गर्ने तथा दक्ष जनशक्ति र आवश्यक उपकरणको उपलब्धता सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिईन् ।

उनले दुर्घटनापछि उपचार गर्नु जति आवश्यक छ, दुर्घटना हुनै नदिनु पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताउनुभयो। सडक सुरक्षा, ट्राफिक नियमको पालना, हेल्मेट तथा सिट बेल्टको अनिवार्य प्रयोग र मादक पदार्थ सेवन गरेर सवारी नचलाउने विषयमा जनचेतना अभिवृद्धि गर्नुपर्ने उनको भनाई थियो।

राष्ट्रिय ट्रमा सेन्टरमा बिरामीको चाप

गम्भीर दुर्घटना तथा चोटपटकका बिरामीको उपचार गर्ने उद्देश्यले स्थापना भएको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि आउने बिरामीको सङ्ख्या बर्सेनि बढ्दो छ । सेन्टरको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन अनुसार एक वर्षमा एक लाख २४ हजार ११२ जनाले बहिरङ्ग सेवा लिएका छन् ।

आव २०८१/८२ मा एक लाख १४ हजार आठ सयले सो सेवा लिएका थिए ।

ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. रुद्रप्रसाद मरासिनीले जटिल शल्यक्रियादेखि सामान्य चोटपटकको समेत उपचार हुने गरेको जानकारी दिए । सेन्टरले उपलब्ध गराएको तथ्याङ्क अनुसार आव २०८२/८३ मा १९ हजार २७१ जना आकस्मिक सेवा लिएका छन् भने छ हजार ७५७ जना भर्ना भएका छन् ।

त्यसअघिको आवमा भर्ना हुने बिरामीको सङ्ख्या छ हजार ३८० थियो । सेन्टरले आव २०८२/८३ मा आठ हजार १३९ र आव २०८१/८२ मा सात हजार ८१७ वटा शल्यक्रिया भएको जनाएको छ ।

तथ्याङ्क अनुसार सेन्टरमा उपलब्ध शय्याको उपयोग दर ९०.७३ प्रतिशत पुगेको छ । आव २०७५/७६ मा यो दर ७३.३ प्रतिशत थियो । सेन्टरमा एक वर्षमा एक लाख २० हजार ३३९ वटा रेडियोलोजी परीक्षण तथा दुई लाख ५३ हजार ८३५ वटा प्रयोगशाला परीक्षण भएका छन् । अघिल्लो आ.व.मा रेडियोलोजी परीक्षण एक लाख चार हजार पाँच सय र प्रयोगशाला परीक्षण दुई लाख ३१ हजार ७८० वटा भएका थिए ।

आव २०८२/८३ मा उपचारपछि डिस्चार्ज भएका छ हजार ५३३ बिरामीमध्ये एक हजार १६५ जना सडक दुर्घटनासँग सम्बन्धित चोटपटकका बिरामी थिए । सोही अवधिमा लडेर घाइते भएका दुई हजार २५७ जना थिए । सामान्य चोटपटकका एक हजार ६५५ जना बिरामी डिस्चार्ज भएका थिए ।

सडक दुर्घटनाबाट हुने मानवीय क्षति नेपालकै गम्भीर चुनौतीका रूपमा रहेको डा। मरासिनीले जानकारी दिनुभयो । उनले सडक दुर्घटनाबाट हुने चोटपटकले घाइते तथा उनीहरूका परिवारमा शारीरिक, मानसिक र आर्थिक भार थप्ने भएकाले दुर्घटना रोकथाम, समयमै उद्धार र गुणस्तरीय उपचारलाई सँगसँगै अघि बढाउन आवश्यक रहेको बताए ।

 

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *