काठमाडौँ महानगरपालिकाद्धारा बाइक एम्बुलेन्स सेवा प्रारम्भ

जोखिममा रहेको बिरामी भएका ठाउँमा छिट्टो पुग्ने लक्ष्य
0
Shares

काठमाडौँ ३१ असोज । काठमाडौँ महानगरपालिकाले देखि बाइक एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । ‘गोल्डेन आवर’ भित्रै बिरामीसम्म दक्ष स्वास्थ्यकर्मी पुर्‍याउन महानरले बाइक एम्बुलेन्स सञ्चालनमा ल्याएको हो ।

महानगरले यो सेवाका लागि नेपाल एम्बुलेन्स सेवासंग सम्झौँता गरेको छ । शुक्रबार महानरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले सेवा प्रारम्भ भएको घोषणा गर्दै नेपाल एम्बुलेन्स सर्भिसलाई बाइक एम्बुलेन्स हस्तान्तरण गरिन् ।

‘एम्बुलेन्स भन्ने वित्तिकै बिरामी बोकेर अस्पताल जाने सवारी साधन सोचिन्छ । तर, हामीले जोखिममा रहेका बिरामी भएका ठाउँमा आकस्मिक स्वास्थ्य सेवाको तालिम प्राप्त स्वास्थ्यकर्मीलाई पुर्‍याउन यो सेवा थालेका हौँ ।’ एम्बुलेन्स हस्तान्तरण अवसरमा बोल्दै कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘ट्राफिक जाम भएका कारण सोचेको समयमा, अपेक्षा गरेको समयमा ४ पाङ्ग्रे एम्बुलेन्स नपुग्न सक्छन् । यस्तो अवस्थामा गोल्डेन आवर (जीवन बचाउन आवश्यक पर्ने एक दुई मिनेटको समय)’ मा रहेका व्यक्तिको जीवन बचाउन दक्ष जनशक्ति बिरामी भएका ठाउँमा छिट्टो पुर्‍याउन यसप्रकारको सेवा थालेका हौँ ।’

कसरी दिन्छ बाइक एम्बुलेन्सले सेवा ?

यो एम्बुलेन्स सेवा लिनका लागि पनि नेपाल एम्बुलेन्स सेवाको हटलाइन नम्बर १०२ नं मा फोन गर्नुपर्छ । बाइक एम्बुलेन्स इएमटी (इमर्जेन्सी मेडिकल टीम) ले सञ्चालन गर्छन् । इएमडीसंग ‘रेड ब्याग’ हुनेछ । रेड ब्याग भनेको, प्राथमिक तथा आकस्मिक स्वास्थ्य सेवाका लागि आवश्यक पर्ने सबै खालका एकसरो सामान, साधन तथा उपकरण भएको झोला हो ।

एम्बलेन्स पुग्नुअघि बिरामीको प्राथमिक उपचार गर्नु, अवस्थालाई थप बिग्रिन नदिनु एम्बुलेन्समा जाने इएमटी को काम हुनेछ । बिरामीलाई यति गर्दा गर्दै ठूलो एम्बुलेन्स आउनेछ । त्यसपछि थप उपचारका लागि अस्पताल लगिनेछ ।

यो एम्बुलेन्सको विकल्प होइन । यसले बिरामी बोक्ने पनि होइन । तर, बिरामीको जीवन बचाउने स्वास्थ्यकर्मीलाई घटना स्थल वा बिरामी भएको स्थलमा पुग्न छिटो साधन हो । कार्यवहाक प्रमुख डंगोलले, बाइक एम्बुलेन्स सञ्चालनमा आएपछि घरमै वा घटना स्थलमै हुने मृत्युको दर घटाउन मद्दत पुग्ने अपेक्षा गरिन् ।

त्यस क्रममा बोल्दै नेपाल एम्बुलेन्स सेवाका अध्यक्ष डा. अनिल श्रेष्ठले आकस्मिक स्वास्थ्य सेवाका लागि काठमाडौँ महानगरपालिकाको लगानीबाट मानिसहरुले जीवन प्राप्त गरिरहेको बताए । उनले बाइक एम्बुलेन्सको प्रयोग र लाभलाई घटनाको विवरण र तथ्यमा राखेर महानगरपालिकालाई प्रदान गर्ने जानकारी दिए ।

महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख दीपककुमार केसीले परीक्षण अवधीको समिक्षा पछि यसको विकास र विस्तारको योजना बन्ने बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *