एमबीबीएस र बीडीएस भर्नाका बारेमा काउन्सिलले दशैँपछि निर्णय गर्ने , तत्कालका लागि रोक्न निर्देशन
काठमाडौँ, २२ असोज – नेपाल मेडिकल काउन्सिलले आफूले सीट निर्धारणसम्वन्धी अन्तिम निर्णय दिइ नसकेको भन्दै तत्काल एमबीबीएस र बीडीएसमा भर्ना नगर्न नगराउन विश्वविद्यालय, प्रतिष्ठान तथा सम्वन्धीत मेडिकल तथा डेन्टल कलेजहरुलाई निर्देशन दिएको छ ।
विभिन्न मेडिकल कलेज तथा डेन्टल कलेजहरु आफूखुशी सिट निर्धारण गरी भर्ना गरेको समाचार सार्वजनिक भएपछि शुक्रबार सूचना प्रकाशित गरि सो निर्देशन दिएको हो । काउन्सिलले दशैँ पछि बस्ने पूर्ण बैठकले आवश्यक निर्णय गर्ने समेत स्पष्ट पारेको छ ।
सो निर्णण गर्न काउन्सिलले विहीबार दिउसो १ बजे आकस्मिक बैठक बोलाएको थियो । तर आवश्यक कोरम नगुपेपछि अन्य निर्णय भएको थिएन ।
‘कतिपय कलेजहरुमा भर्ना लिएको पाइयो त्यसैले हाललाई स्थगित गर्नका लागि निर्णय गरेका हौँ , पूर्ण बैठक दशै लगत्तै बस्ने र थप निर्णय गर्ने सहमति भएको हो,’ काउन्सिलका रजिष्टार डा दिलीप शर्माले भने ।
सो सूचनालाई सम्वोधन गर्न शुक्रबार समेत काउन्सिलको अनौपचारिक बैठक बसेको थियो ।
सम्पर्क इमेल : [email protected]