अष्ट्रेलियामा अवैध सुर्तीजन्य पदार्थको प्रयोग बढे पनि धूम्रपानको दरमा ऐतिहासिक रूपले कमी

एजेन्सी । अवैध सुर्तीजन्य पदार्थको प्रयोग बढे पनि अष्ट्रेलियामा दैनिक धूम्रपान गर्नेहरूको संख्या ऐतिहासिक रूपमा सबैभन्दा कम स्तरमा झरेको एक अनुसन्धानले देखाएको छ ।
अष्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एन्ड वेलफेयर (एआईएचडब्लु) ले गरेको राष्ट्रिय स्तरको हालसम्मकै सबैभन्दा ठूलो सुर्तीजन्य पदार्थसम्बन्धी सर्वेक्षणले यस्तो तथ्य निकालेको हो ।
सर्भेक्षणले नयाँ ट्रेन्डको रुपमा उदाएको भेप अर्थात विद्युतीय चुरोटको प्रयोग दर पनि स्थिर रहेको देखिएको छ।
यद्धपी, सर्वेक्षणले धूम्रपान गर्ने व्यक्तिहरूमध्ये अवैध सुर्तीजन्य पदार्थ प्रयोग गर्नेहरूको संख्या भने बढ्दै गएको देखाएको छ।
सर्वेक्षणमा १४ वर्ष वा सोभन्दा माथिका व्यक्तिहरूमध्ये दैनिक धूम्रपान गर्नेको दर सन् २०२५ मा ५.६ प्रतिशतमा मा झरेको छ, जुन २०२२–२३ को ८.३ प्रतिशत भन्दा उल्लेखनीय रूपमा कम हो। अष्ट्रेलिया सरकारको राष्ट्रिय सुर्ती रणनीति २०२३–२०३० ले सन् २०२५ सम्म दैनिक धूम्रपान दर १० प्रतिशत भन्दा कम बनाउने लक्ष्य राखेको थियो। अब सन् २०३० सम्म यो दर ५ प्रतिशत वा कम बनाउने लक्ष्य रहेको छ।
क्यान्सर काउन्सिल अष्ट्रेलिया की प्रमुख कार्यकारी अधिकृत जासिन्टा रेड्डन का अनुसार, १४ वर्ष वा सोभन्दा माथिका अष्ट्रेलियालीमध्ये दुई तिहाइभन्दा बढीले कहिल्यै धूम्रपान नगरेको तथ्य पनि ऐतिहासिक रूपमा पहिलो पटक देखिएको हो।
यो सर्वेक्षण सन् २०२५ को जुनदेखि डिसेम्बरसम्म सञ्चालन गरिएको थियो । सर्वेक्षणमा देशभरका १७ हजार ५०० भन्दा बढी १४ वर्ष वा सोभन्दा माथिका व्यक्तिहरू सहभागी भएका थिए।
अवैध सुर्तीजन्य पदार्थको प्रयोग बढ्दो
सर्वेक्षणमा पछिल्ला केही वर्षमा अवैध सुर्तीजन्य पदार्थको प्रयोगकर्ता बढेको देखिएको छ । सर्वेक्षणमा सहभागी कुल धूम्रपान गर्नेहरूमध्ये ३४ प्रतिशतले पछिल्लो समय अवैध सुर्तीजन्य पदार्थ प्रयोग गरेको बताएका छन्, जुन २०२२–२३ मा १६.७ प्रतिशत मात्र थियो।
करिब २२ प्रतिशतले पछिल्लो तीन महिनामा ब्रान्डेड अवैध चुरोट (सादा प्याकेजिङ र स्वास्थ्य चेतावनीबिनाको) किनेको बताए।
छ मध्ये एक जना धूम्रपानकर्ताले खुला रूपमा बेचिने, प्रायः प्लास्टिकको झोलामा राखिएको सुर्तीजन्य पदार्थको कुनै पनि संकेत नभएको सुर्ती वा चुरोट प्रयोग गर्ने बताएका छन्।
ब्रान्डेड अवैध चुरोट किन्नेहरूमध्ये ५७ प्रतिशतले ले आफूले सुर्तीजन्य पदार्थको विक्रीबितरण हुने पसबाट यी पदार्थहरुको खरिद गरेको बताएका छन्।
कुल निकोटिन प्रयोग पनि घट्दै
यसअघि केही प्रतिवेदनहरूले अवैध सुर्तीको प्रयोग बढ्नु भनेको मानिसहरूले धूम्रपान छोडिरहेका छैनन् भन्ने संकेत दिएको बताएका थिए। ती प्रतिवेदनहरू मुख्यतः निकोटिनको कुल प्रयोग मापन गर्ने तथ्याङ्कमा आधारित थिए, जसमा भेप, निकोटिन पाउच र धूम्रपान छोड्न प्रयोग हुने औषधीहरू पनि समावेश थिए।
तर एआईएचडब्लुको नयाँ सर्वेक्षणले कुल निकोटिन प्रयोग पनि घट्दै गएको देखाएको छ। कुनै पनि प्रकारको निकोटिन प्रयोग गर्ने व्यक्तिको अनुपात २०२२–२३ को १७.४ प्रतिशतबाट घटेर २०२५ मा १५.२ प्रतिशतमा झरेको छ।
धूम्रपान नियन्त्रणका उपाय प्रभावकारी
क्यान्सर काउन्सिल अष्ट्रेलियाले धूम्रपान दर घटाउन लागू गरिएका विभिन्न नीतिहरूको प्रशंसा गरेको छ।
क्यान्सर काउन्सिल अष्ट्रेलियाकी प्रमुख कार्यकारी अधिकृत रेड्डन भन्छिन्, ‘प्लेन प्याकेजिङ, कर वृद्धि, विज्ञापनमा प्रतिबन्ध तथा धूम्रपानका हानिकारक असरबारे निरन्तर जनचेतनामूलक अभियानले धूम्रपान दरलाई विश्वकै सबैभन्दा न्यून स्तरमध्ये एकमा पुर्याएको छ। तर पनि धूम्रपानका कारण अष्ट्रेलियामा अझै हरेक दिन ६६ जनाको मृत्यु भइरहेको छ।’
पब्लिक हेल्थ एसोसिएसन अफ अष्ट्रेलिया की अध्यक्ष प्रोफेसर क्यारोलिन मिलरले पनि विभिन्न सर्वेक्षणहरूमा धूम्रपान गर्नेहरूको संख्या निरन्तर घटिरहेको स्पष्ट देखिएको बताइन्।
उनका अनुसार एआईएचडब्लुको यो सर्वेक्षण दशकौँदेखि एउटै प्रश्नावली प्रयोग गर्दै आएको, ठूलो नमुना आकार भएको र सबैभन्दा विश्वसनीय सर्वेक्षणमध्ये एक हो।
अवैध सुर्तीविरुद्धको लडाइँ
प्रोफेसर मिलर भन्छिन्, ‘अवैध सुर्ती नियन्त्रणका लागि कर घटाउने होइन, कडा कानुनी व्यवस्थालाई प्रभावकारी कार्यान्वयन र नियमन आवश्यक छ।’
सुर्ती उद्योगसँग सम्बन्धित केही वकालतकर्ता, अर्थशास्त्री तथा राजनीतिज्ञहरूले वैध चुरोट महँगो भएकाले मानिसहरू अवैध बजारतर्फ गएको र त्यसलाई रोक्न सुर्तीमा लाग्ने कर घटाउनुपर्ने तर्क गर्दै आएका छन्।
तर सिड्नी विश्वविद्यालय की सुर्ती नियन्त्रण विशेषज्ञ प्रोफेसर बेकी फ्रिम्यान ले यो तर्कसँग असहमति जनाइन्।
उनी भन्छिन्, ‘अवैध सुर्तीजन्य पदार्थ वास्तवमै एक समस्या हो। तर अहिले नै सस्तो र सजिलै पाइने अवैध चुरोट किन्ने व्यक्तिले वैध चुरोटको मूल्य केही घटे पनि किन त्यसतर्फ फर्किन्छ ? त्यसको कुनै अर्थ छैन।’ उनका अनुसार अवैध सुर्ती उत्पादन गर्न अत्यन्त कम खर्च लाग्ने भएकाले मूल्य अझै घटाउन सकिने सम्भावना पनि छ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com



नेपाली हेल्थ 
