यात्रुलाई गुणस्तरहीन खाना खुवाए होटल र चालकलाई कारबाही हुने
काठमाडौँ, २९ असोज । सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुलाई स्वच्छ र गुणस्तरीय खाना उपलब्ध गराउन यातायात व्यवस्था विभागले होटल तथा रेस्टुरेन्ट र सार्वजनिक सवारीका चालकलाई निर्देशन दिएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले सूचना जारी गर्दै सार्वजनिक सवारीका चालकलाई सम्भव भएसम्म खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको खाद्य स्वच्छतासम्बन्धी स्टिकर टाँसिएका होटल तथा रेस्टुरेन्टमा मात्र यात्रुलाई खाना तथा नास्ताका लागि रोक्न आग्रह गरेको हो।
होटल तथा रेस्टुरेन्टमा सरसफाइको कमी, बासी तथा गुणस्तरहीन खाना उपलब्ध गराउने र अत्यधिक मूल्य लिने गरेको भन्दै जनगुनासो बढेपछि विभागले यस्तो सूचना जारी गरेको जनाएको छ।
विभागले होटल तथा रेस्टुरेन्ट सञ्चालकलाई यात्रुलाई स्वच्छ र गुणस्तरीय खाना उपलब्ध गराउन आग्रह गर्दै गुणस्तरहीन खानाका कारण यात्रु बिरामी परेको पाइएमा सम्बन्धित सवारी चालक तथा होटल–रेस्टुरेन्ट सञ्चालकलाई प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनी दिएको छ।
त्यस्तै, खाना तथा नास्ताको गुणस्तरमा कमी भएको वा मूल्यमा ठगी गरिएको पाइएमा यात्रुलाई सम्बन्धित निकायमा उजुरी गर्न विभागले आग्रह गरेको छ।
यात्रुले यस्तो समस्या देखिएमा नेपाल प्रहरीको हेल्पलाइन नम्बर १०० मा फोन गर्न सक्नेछन्। साथै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय वा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका सम्बन्धित कार्यालयमा सम्पर्क गरी जानकारी गराउन सकिने सूचनामा उल्लेख छ।
विभागले सार्वजनिक यातायातका चालक, होटल तथा रेस्टुरेन्ट व्यवसायी र यात्रुलाई खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्न सहयोग गर्न अनुरोध गरेको छ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




