विश्वव्यापी रुपमा देखिदैछ प्रजनन संकट:

३५ वर्ष माथिका ५ करोड ३६ लाख महिलाले गर्भधारण गर्न नसकेको नयाँ अध्ययनको निष्कर्ष

48
Shares

एजेन्सी। विश्वभर ३५ देखि ४९ वर्ष उमेर समूहका करिब ५ करोड ३६ लाख महिलाले गर्भधारण गर्न नसकेको नयाँ अध्ययनले देखाएको छ। यसले विश्वमा बढ्दो प्रजनन (फर्टिलिटी) संकटप्रति फेरि चिन्ता बढाएको छ।

चीनको चोङकिङ मेडिकल विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले सन् १९९० देखि २०२३ सम्मका २०४ देशका स्वास्थ्य तथ्यांक विश्लेषण गरी ३५–४९ वर्ष उमेरका महिलामा बाँझोपन (Infertility) को अवस्था कसरी परिवर्तन भएको छ भन्ने अध्ययन गरेका हुन्।

अध्ययनअनुसार, सन् १९९० मा प्रति एक लाख महिलामध्ये करिब ६ हजार १ जनामा देखिएको बाँझोपन सन् २०२३ मा बढेर ६ हजार ९०७ प्रति एक लाख पुगेको छ।

३५ देखि ४९ वर्ष उमेरका महिलामध्ये धेरैमा अझै महिनावारी भइरहने भएकाले उनीहरूलाई प्रजनन उमेरको समूहमा राखिन्छ।तर चिकित्सकहरूका अनुसार महिलाको प्रजनन क्षमता ३५ वर्षपछि तीव्र रूपमा घट्न थाल्छ र ४० वर्षको उत्तरार्धसम्म पुग्दा निकै न्यून हुन्छ।

द ल्यान्सेट अब्स्टेट्रिक्स, गायनोकोलोजी एन्ड वुमेन्स हेल्थमा प्रकाशित अध्ययनले सबैभन्दा तीव्र वृद्धि ३५–३९ वर्ष उमेर समूहमा हुने अनुमान गरेको छ।

अनुसन्धानमा महिलालाई ३५–३९, ४०–४४ र ४५–४९ गरी तीन समूहमा विभाजन गरिएको थियो। नियमित असुरक्षित यौनसम्पर्क गरेको १२ महिनासम्म पनि चिकित्सकीय रूपमा गर्भ रहन नसक्ने अवस्थालाई बाँझोपन मानिएको छ।

भविष्यको अनुमानअनुसार तीनै उमेर समूहमा बाँझोपन बढ्ने भए पनि सबैभन्दा ठूलो वृद्धि ३५–३९ वर्ष उमेरका महिलामा हुने देखिएको छ।

यसको अर्थ ३० वर्षको उत्तरार्धका महिलामा ४० वर्षभन्दा माथिका महिलाको तुलनामा बढी बाँझोपन हुन्छ भन्ने होइन। उमेर बढ्दै जाँदा डिम्ब (अण्डा) को संख्या र गुणस्तर घट्ने भएकाले प्रजनन क्षमता स्वाभाविक रूपमा कम हुँदै जान्छ।

अनुसन्धानकर्ताहरूका अनुसार धेरै महिलाले उच्च शिक्षा, रोजगारी र करियरलाई प्राथमिकता दिँदै मातृत्वलाई ढिलो गरिरहेका छन्। तर परिवार विस्तार गर्ने निर्णय गर्दा उनीहरूको प्रजनन क्षमता पहिले नै घट्न थालेको हुन सक्छ।

बेलायतको अफिस फर नेसनल स्टाटिस्टिक्स (ONS) का अनुसार सन् २०२१ मा इङ्ग्ल्यान्ड र वेल्समा पहिलोपटक सन्तान जन्माउने आमाको औसत उमेर ३०.९ वर्ष पुगेको थियो, जुन हालसम्मकै उच्च हो। सन् १९७३ मा यो औसत उमेर २६.४ वर्ष मात्र थियो।

त्यस्तै, बेलायतमा ४० वर्षभन्दा माथिका महिलाबाट जन्मिने शिशुको संख्या किशोरी आमाबाट जन्मिने शिशुभन्दा दोब्बरभन्दा बढी भएको छ। पाँच दशकअघि भने किशोरी आमाको संख्या ४० वर्षभन्दा माथिका आमाभन्दा नौ गुणा बढी थियो।

अनुसन्धानकर्ताहरूले मोटोपना (Obesity) र तनाव (Stress) ले पनि प्रजनन क्षमतामा नकारात्मक प्रभाव पारिरहेको बताएका छन्। साथै, प्रजनन उपचार (Fertility Treatment) को पहुँच बढेसँगै धेरै महिलाले उपचार खोज्न थालेकाले बाँझोपनको पहिचान हुने संख्या पनि बढेको हुन सक्ने अध्ययनले उल्लेख गरेको छ।

अनुमानअनुसार ४०–४४ र ४५–४९ वर्ष उमेर समूहमा पनि बाँझोपन उल्लेखनीय रूपमा बढ्नेछ र सन् २०३६ सम्म विश्वभर प्रभावित महिलाको संख्या करिब ७ करोड ९६ लाख पुग्ने अपेक्षा गरिएको छ।

अध्ययनका प्रमुख लेखक युआनयुआन डुका अनुसार सन् १९९० को दशकको अन्त्यपछि महिलाको शिक्षा र रोजगारीमा सहभागिता बढ्दै गएपछि सन्तान जन्माउने उमेर पछाडि सरेको र त्यसले उमेरसँग सम्बन्धित बाँझोपन बढाएको हो।

अध्ययनले सन् २००६–२०१० बीच बाँझोपनमा देखिएको सामान्य गिरावटलाई विश्वव्यापी आर्थिक मन्दीसँग जोडेको छ। आर्थिक कठिनाइका कारण धेरै महिलाले परीक्षण तथा उपचार गराउन नसकेकाले वास्तविक अवस्था कम देखिएको हुन सक्ने अनुसन्धानकर्ताहरूको भनाइ छ।

सन् २०२३ को तथ्यांकअनुसार पूर्वी एसियामा बाँझोपनको भार सबैभन्दा बढी र अस्ट्रेलासियामा सबैभन्दा कम देखिएको छ। देशगत रूपमा भने मध्य अफ्रिकी गणतन्त्रमा सबैभन्दा बढी र नेपालमा सबैभन्दा कम बाँझोपनको भार रहेको अध्ययनले जनाएको छ।

अनुसन्धानकर्ताहरूका अनुसार बाँझोपन केवल स्वास्थ्य समस्या मात्र नभई मानसिक, सामाजिक र आर्थिक समस्या पनि हो। यसले मानसिक तनाव, सामाजिक कलंक, आर्थिक बोझ, दाम्पत्य सम्बन्धमा तनाव तथा श्रमशक्ति र वृद्ध जनसंख्यासँग सम्बन्धित चुनौतीहरू समेत सिर्जना गर्न सक्छ।

यसैले उनीहरूले प्रजनन स्वास्थ्यलाई सार्वजनिक स्वास्थ्यको प्राथमिकतामा राख्दै छिटो पहिचान, उपचार सेवामा सहज पहुँच र प्रत्येक देशको आवश्यकता तथा स्रोतअनुसार नीति निर्माण गर्नुपर्ने सुझाव दिएका छन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *