कङ्गोमा इबोलाबाट १७ सय संक्रमित, ५ सय ८० जनाको मृत्यु

20
Shares

किन्शासा, २४ असार । कङ्गो लोकतान्त्रिक गणतन्त्र (डीआरसी) मा इबोला प्रकोप अझै तीव्र बन्दै गएको छ।

विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० का अनुसार हालसम्म १ हजार ७ सय ८० जनामा इबोला सङ्क्रमण पुष्टि भएको छ भने ५ सय ८० जनाको मृत्यु भइसकेको छ।

मङ्गलबार सार्वजनिक गरिएको डब्ल्यूएचओको प्रतिवेदनमा इटुरी र उत्तरी किवु प्रान्तमा सङ्क्रमण निरन्तर फैलिरहेको, मृत्यु सङ्ख्या बढिरहेको तथा नयाँ स्वास्थ्य क्षेत्रमा समेत संक्रमण देखिन थालेको उल्लेख गरिएको छ। यसले प्रकोप नियन्त्रणमा चुनौती थपिएको डब्ल्यूएचओले जनाएको छ।

कङ्गोका लागि डब्ल्यूएचओकी प्रतिनिधि एनी एन्सियाले इटुरी प्रान्तको राजधानी बुनियामा पत्रकारसँग कुरा गर्दै देशमा सार्वजनिक स्वास्थ्य जोखिम उच्च रहेको चेतावनी दिएका छन्।

उनका अनुसार उपचारका लागि अस्पताल भर्ना हुनु अघि नै हुने मृत्यु प्रमुख चिन्ताको विषय बनेको छ, जसले सङ्क्रमण पहिचानमा ढिलाइ भइरहेको संकेत गर्छ।

प्रतिवेदनअनुसार आइतबारसम्म अनुसन्धान गरिएका ४३० सङ्क्रमित मृत्युहरूमध्ये ३९७ जनाको मृत्यु स्वास्थ्य संस्थामा भर्ना हुनु अघि नै भएको थियो।

पुष्टि भएका संक्रमितमध्ये केवल ३२।४ प्रतिशत मात्र सम्पर्क पहिचान ९कन्ट्याक्ट ट्रेसिङ० मार्फत फेला परेका छन्, जसले निगरानी बाहिर पनि संक्रमण फैलिरहेको देखाएको छ।

डब्ल्यूएचओका टोलीहरूले सरकारसँग सहकार्य गर्दै प्रत्येक सङ्क्रमणको स्रोत र सम्पर्क श्रृंखला पहिचान गर्ने कामलाई तीव्र बनाइरहेको एन्सियाले बताए।

गत मे १५ मा घोषणा गरिएको यो प्रकोपले मुख्यतः पूर्वी कङ्गोका इटुरी, उत्तरी किवु र दक्षिण किवु प्रान्तलाई प्रभावित पारेको छ।

हाल देशभर २२ भन्दा बढी इबोला उपचार केन्द्र तथा हेरचाह सुविधामा करिब ७०० उपचार बेड उपलब्ध छन्। तर इटुरी प्रान्तमा उपचार केन्द्रहरूमा अत्यधिक चाप परेकाले सबै बिरामीको आवश्यकता पूरा गर्न कठिन भइरहेको डब्ल्यूएचओले जनाएको छ।

डब्ल्यूएचओका अनुसार किन्शासामा दैनिक परीक्षण क्षमता करिब ३० बाट बढेर २ हजारभन्दा बढी पुगेको छ।

प्रभावित क्षेत्रमा १० वटा विकेन्द्रीकृत प्रयोगशाला सञ्चालनमा ल्याइएका छन्, जसले परीक्षण र निगरानीलाई थप प्रभावकारी बनाएको छ।

पूर्वी कङ्गोमा जारी मानवीय सङ्कट, असुरक्षा, विस्थापन, स्वच्छ पानीको अभाव तथा कमजोर स्वास्थ्य पूर्वाधारका कारण प्रकोप नियन्त्रण झन् जटिल बनेको डब्ल्यूएचओले जनाएको छ।

यही अवस्थालाई ध्यानमा राख्दै अफ्रिका सीडीसी र साझेदार संस्थाहरूले इबोला नियन्त्रणसँगै विस्थापन, सरसफाइ र अन्य मानवीय आवश्यकतालाई समेट्ने गरी आफ्नो सहयोग विस्तार गरेका छन्।

डब्ल्यूएचओका अनुसार हालको प्रकोप बुन्डिबुग्यो इबोला भाइरस का कारण फैलिएको हो। यस भाइरसविरुद्ध हालसम्म कुनै स्वीकृत खोप वा विशिष्ट उपचार उपलब्ध छैन।

यसैबीच, डब्ल्यूएचओको सहयोगमा डीआरसीमा यस भाइरसबाट हुने रोगको उपचारको प्रभावकारिता मूल्याङ्कन गर्ने पहिलो क्लिनिकल परीक्षण औपचारिक रूपमा सुरु गरिएको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *