भाटभटेनी सञ्चालक गुरुङ परिवारले बनाइदिएको किओच-काठमाडौँ बाल अस्पतालको मुख्य भवन हस्तान्तरण

सरकारी दर रेटमै उपचार, स्वास्थ्यकर्मीको सुविधा भने दोब्बर बढी
100
Shares

काठमाडौँ, ९ जेठ। प्राडा भगवान कोइराला अगुवाईमा बूढानीलकण्ठ नगरपालिका–७ हेपाली हाइटमा  बन्दै गरेको बाल अस्पताल ‘काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)’ को मुख्य भवन ‘श्री बृषबहादुर धनमाया गुरुङ (भाटभटेनी) स्मृती भवन’ हस्तान्तरण गरिएको छ ।

शनिबार एक समारोहका बीच भाटभटेनीका सञ्चालक समेत रहेका समाजसेवी मीनबहादुर गुरुङ र सावित्री गुरुङ तथा पहलमान गुरुङ र सरला गुरुङले आफ्ना स्वर्गीय बुबा आमाको स्मृतीमा बनाएको भवन प्राडा कोइरालालाई हस्तान्तरण गरेका हुन् ।

त्यस लगत्तै  जगतगुरु शङ्कराचार्य श्रीश्री विधुशेखर भारतीले सो भवनको उद्घाटन गरे । उनी दक्षिणाम्नाय श्री शारदा पीठाधिश्वर जगदगुरु शंकराचार्य अनन्त श्रीविभुषित श्री श्री भारती तीर्थजी महाराजका उत्तराधिकारी हुन् ।

व्यवसायी गुरुङको स्वामित्वमा रहेको भाटभटेनीले उक्त भवन निर्माण गर्न ७१ करोड चार लाख ४२ हजार २४४ खर्चेको थियो । भवन मात्रै होइन त्यस भित्रका फर्निचर तथा उपकरणहरुमा पनि गुरुङ परिवारको लगानी छ ।

भवन हस्तान्तर समारोहमा सम्वोधन गर्ने क्रममा व्यवसायी  गुरुङले विपन्न बालबालिकाको उपचारमा सहयोगका लागि कोष खडा गर्ने घोषणा गर्दै त्यसमा आफ्नो तर्फबाट थप १ करोड रुपैयाँ दान गरेको जानकारी गराएका थिए । साथै अस्पतालका लागि अत्याधुनिक सिटिस्क्यान मेसिनका लागि भाटभटेनी समूहले १५ करोड रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री सुशीला कार्कीले अस्पताल स्थापनासँगै गरिब तथा बालबालिकाले सर्वसुलभ स्वास्थ्य सेवा पाउने वातावरण सुनिश्चित भएको बताईन ।

अस्पतालका अध्यक्ष एवं वरिष्ठ मुटु रोग विशेषज्ञ प्राडा कोइरालाले गैरनाफामूलक संस्थाका रुपमा रहेको यस संस्थाले बाल उपचारका लागि विशिष्टीकृट स्वास्थ्य सेवा आजबाटै पूर्ण रुपमा शुभारम्भ भएको बताए ।

व्यवसायी गुरुङले सर्वसाधरण नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा दिनका लागि अस्पताल स्थापना गरिएको बताए ।

त्यसअघि जगतगुरु शङ्कराचार्य श्रीश्री विधुशेखर भारतीले बालबालिकाको स्वास्थ्य उपचारका लागि गुरुङ परिवारले गरेको सहयोग चर्चा गर्दै पशुपतिनाथको आर्शीवादले थप सहयोगको लागि प्रेरणा मिल्ने बताए । उनले प्राडा कोइराला र उनी नेतृत्वको टिमको काममा उत्कृष्ठ मानवीय र सेवाभावको कार्य भनेर टिप्पणी गरेका थिए ।

काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ सन् २०१७ मा मुनाफारहित कम्पनीका रूपमा दर्ता तथा समाज कल्याण परिषद्मा आबद्ध भई गैरसरकारी सामाजिक संस्थाका रूपमा सञ्चालनमा छ ।

उक्त इन्स्टिच्युटको काठमाडौँ उपत्यकामा विशिष्टकृट सेवासहित बाल अस्पताल तथा सातवटै प्रदेशमा भौतिक संरचनासहित बाल अस्पताल सञ्जाल निर्माण गरिरहेको छ ।

देशभरका सबै वर्गका बालबालिकालाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्याई उनीहरूको स्वास्थ्य अवस्थामा सुधार गर्ने र शिशु तथा बाल मृत्युदर घटाउने लक्ष्यका साथ उक्त अस्पताल स्थापना गरिएको हो ।

मुख्य भवन हस्तान्तरण संगै अस्पतालको सम्पूर्ण सेवा आजबाट नियमित भएको बताएको छ ।

सरकारी दर रेटमै उपचार, स्वास्थ्यकर्मीको सुविधा भने दोब्बर बढी

त्यसो त किओच काठमाडौँले ओपिडी सेवा दिन थालेको चार महिना भईसक्यो । अहिलेसम्म ७५ बढी मेजर शल्यक्रिया भईसकेको सो अस्पतालमा तीनवटा ओपन हार्ट सर्जरी समेत सम्पन्न भईसकेको प्राडा कोइरालाले बताए ।

यद्धपी यो अस्पतालमा सबै सेवाहरु नियमित भइसकेको थिएन ।

‘अब आजबाट भने सेवाले पूर्णता पाएको छ । अब चौविसै घण्टा आकस्मिक सेवा देखि ओपिडी, सीसीयू, शल्यक्रिया लगायतका सबै सेवा सञ्चालनमा आएको छ,’ प्राडा कोइरालाले भने ।

विशेषज्ञ चिकित्सकलाई देखाउन किओचमा १०० रुपैयाँ ओपिडी टिकट लिए पुग्छ भर्ना हुँदा जनरल वेड चार्ज ३०० रुपैयाँ मात्रै तोकेको छ । अरु सेवाका शुल्क पनि, गंगालाल, त्रिवि शिक्षण अस्पताल, कान्ति बाल अस्पताल र पाटन अस्पतालको दर रेटलाई हेरेर बनाइएको प्राडा कोइरालाले बताए ।

सामाजिक सुरक्षा कोष(एसएसएफ) अन्तर्गतको उपचार सुविधा उपलव्ध यस अस्पतालले छिटै नै स्वास्थ्य बीमा सेवा पनि जोडने योजनामा रहेको छ ।

अस्पतालमा १३० जना फुलटाइम कर्मचारीले सेवा दिन थालेका छन् । त्यसमा २५ जना विभिन्न विषयका बालरोग विशेषज्ञ, त्यहि हिसावले नर्स तथा प्यारामेडिक्सहरु पनि उपलव्ध छन् ।

सरकारी सरहकै शुल्कमा उपचार सेवा उपलव्ध हुने घोषणा गरिएको अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई दिईने सुविधा दर कस्तो छ नि भन्ने प्रश्नमा प्राडा कोइराला भन्छन, ‘जुनियर विशेषज्ञहरुले सरकारीभन्दा दोब्बर सुविधा पाउँने गरेका छन् भने प्रमुख विशेषज्ञ (चिफ कन्सलटेन्ट)का लागि साढे दुई गुणा बढी तोकिएको छ ।’

उनले स्टाफ नर्सहरुको तलव सरकारी सरह नै रहेको तर त्यसमा पनि अफिसर लेभलका नर्सहरुको सरकारी भन्दा बढी भएको बताए । विस्तारै स्टाफ नर्सहरुको पनि सुविधा बढ्ने उनले जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *