कोशी प्रदेश: क्यान्सर, मिर्गौलालगायतका बिरामीलाई ८ करोड ८५ लाख सहायता वितरण

4
Share

काठमाडौँ, ११ भदौ । कोशी प्रदेश सरकारले कडा रोगका बिरामीलाई आठ करोड ८५ लाख रुपैयाँ आर्थिक सहायता वितरण गरेको जनाएको छ ।

कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा केनिन राईका अनुसार आर्थिक वर्ष २०८१/८२ मा सहायताका लागि एक हजार ७१५ जना बिरामीले मन्त्रालयबाट सहायता रकम प्राप्त गरेका हुन् ।

क्यान्सर, मिर्गौला, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेन एनिमियालगायतका बिरामीले अघिल्लो आव २०८०/८१ मा दिएका निवेदनका आधारमा रु ५० हजार र रु एक लाखका दरले आर्थिक सहायता वितरण गरिएको उनले जानकारी दिए ।

उनले क्यान्सर, मिर्गौला, स्पाइनल इन्जुरी, हेड इन्जुरीका एक हजार ६६० बिरामीलाई रु ५० हजारका दरले र मिर्गौला ट्रान्सप्लान्टका ५५ बिरामीलाई रु एक लाखका दरले सहायता रकम वितरण गरिएको बताए ।

चालु आव २०८२/ ८३ मा सरकारले आर्थिक सहायताका लागि बजेट विनियोजन नगरेको उनले बताए । ‘यो आवमा यस्तो सेवा मन्त्रालयले राखेको छैन’, सूचना अधिकारी राईले भने, ‘आर्थिक रूपमा भार धेरै भयो । कडा रोग लागेका बिरामीलाई निःशुल्क स्वास्थ्य बिमा गरिदिने र बिमा गरिसकेकाहरूको नवीकरण गरिदिने कार्यविधि बनेको छ । जिल्लाहरूबाट तथ्याङ्क सङ्कलन गरिरहेका छौँ । चाँडै सूचना जारी गरेर काम थाल्नेछौँ ।’

विगतको कार्यविधिमा मिर्गौला प्रत्यारोपण गर्नेलाई दुई लाख र अन्य कडा खालका रोग लागेकालाई एक लाखका दरले सहायता उपलब्ध गराउने प्रावधान थियो । तर माग धेरै र बजेट अभाव भएपछि सरकारले गत वर्ष आधा मात्रै बाँड्ने निर्णय गरेको थियो ।

उनले विसं २०८० चैतबाट मन्त्रालयले निवेदन लिने काम बन्द गरिसकेको जानकारी दिए । प्रदेशमा कडा रोग लागेका बिरामीलाई पहिलोपल्ट आव २०७९/८० बाट आर्थिक सहायता वितरण सुरु गरिएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *