अब सबै संघीय अस्पतालमा डिजिटल भुक्तानी

काठमाडौँ, २१ बुधबार । अब देशका सबै संघीय अस्पतालमा डिजिटल भुक्तानी हुने भएको छ ।
संघीय अस्पतालको सेवा डिजिटल बनाउने मन्त्री प्रदीप पौडेलको योजनाअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै संघीय अस्पताल तथा प्रतिष्ठानहरुलाई बुधबार पत्र पठाएर बिलको भुक्तानी अनलाइन तथा क्यु आरमार्फत डिजिटल भुक्तानीको व्यवस्था मिलाउन भनेको हो ।
मन्त्री पौडेलले अस्पतालहरुमा हुने भीड व्यवस्थापनका लागि भन्दै नौ बुँदे सुधार योजना अघि सारेका थिए । त्यसमा बिरामीको टिकट लिन तथा उपचार वापतको भुक्तानीका लागि सके सम्म कम सास्ती र भीड कम हुने गरी काम अघि बढाउन अधिकारीहरुलाई भनेका थिए ।
यस अन्तगर्त डिजिटल पेमेन्टलाई समेत अघि बढाइने निर्णय गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । मन्त्रालयअन्र्तगतको गुणस्तर मापन तथा नियमन महाशाखाले पत्राचारसँगै अनुगमन समेत गर्ने तयारी गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले अस्पतालहरुले मन्त्रालयसमक्ष जनाएको नौबुँदे प्रतिबद्धताअन्तर्गत नै भीड व्यवस्थापन गर्ने विषय समेत रहेको उल्लेख गर्दै अब अनुगमनमा कडाइ गर्ने बताए ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



