पीजीका विद्यार्थीलाई कलेज फर्किन अवरोध छैन : एसोसिएशन अध्यक्ष डा कार्की

काठमाडौँ, २० बैशाख । एसोसिएशन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष डा ज्ञानेन्द्रमानसिंह कार्कीले आन्दोलनरत आवासीय चिकित्सकहरुलाई कक्षामा फर्किन कलेजहरुका तर्फबाट कुनै अवरोध नभएको बताएका छन् ।

उनले बीचमा कक्षा छुटेको सम्वन्धमा विद्यार्थीहरुलाई सम्वन्धित विश्वविद्यालयबाट पत्र बनाएर ल्याउन भनिएको जानकारी दिएका छन् ।

चिकित्सा शिक्षा आयोगको १५ बैशाखमा सम्पन्न १८ औँ बैठकपछि आन्दोलनमा उत्रिएका पीजी रेजिडेन्टस्को समेत माग पुरा भएको उल्लेख गर्दै विद्यार्थीहरुले छुटेको अवधिको विषयमा विश्वविद्यालयबाट लेखाएर आउन आग्रह गरिएको बताए ।

‘पीजीमा एक दिन पनि गयल हुन पाईदैन, हरेक मिनेट मिनेट जोडिन्छ । किनभने पीजीमा घण्टा अवधी तोकिएको हुन्छ । एक दिन कम भए पनि डिउटी गरेर पुरा गर्नैपर्छ । यो पीजीको पाठ्यक्रममै उल्लेख भएको कुरा हो । आन्दोलन गएँ भनेर यत्तिकै त्यो अवधी जोड्न मिल्दैन । त्यसैले विश्वविद्यालयको पत्र हामीलाई चाहियो भनेको हो । त्यसैले विद्यार्थीहरुले विश्वविद्यालय जाने पत्र ल्याउने आफ्नो पढाईमा लाग्ने सकियो । मैले अध्यक्षको नाताले सबै कलेजलाई त्यो निर्देशन पनि दिईसकेको छु,’ डा कार्कीले भने ।

शुक्रबार मात्रै विभिन्न कलेजमा अध्ययन्रत पीजीका विद्यार्थीहरुले आन्दोलनमा गएकै कारण आफूहरुलाई कलेज प्रशासनले अध्ययनमा फर्किन अवरोध सिर्जना गरेको भन्दै स्वास्थ्य मन्त्री प्रदीप पौडेलको ध्यानाकर्षण गराएका थिए ।

त्यसपछि मन्त्री पौडेलले विद्यार्थीहरुलाई कलेज फर्किन अवरोध गर्न नमिल्ने भन्दै त्यस्ता गतिविधि कलेजहरुले गरि राखेमा सम्वन्धन नै खारेज पनि हुन सक्ने चेतावनी दिएका थिए ।

उनले चिकित्सा शिक्षा आयोगले तोकेको निर्वाहभत्ता उपलव्ध गराउनु पर्ने भन्दै अन्यथा मन्त्रालयबाट हुने सहयोग रोकिने बताए ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिल बिक्रम कार्कीले पनि विभिन्न कलेजहरुले विद्यार्थीहरुलाई डिउटीमा फर्किन अवरोध सिर्जना गरेको भन्दै सरकारले एक्सन लिनुपर्ने बताएका थिए ।

कलेजहरुमा विद्यार्थी फर्किन अझै सहज नभएको भन्दै संघले आज पनि माईतीघर मण्डलामा धर्नाको कार्यक्रम जारी नै राखेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *