स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. काफ्लेले गरे पदवहाली

काठमाडौँ, १ चैत । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डा रघुराज काफ्लेले आजबाट जिम्मेवारी सम्हालेका छन्। गत सोमबारको मन्त्रिपरिषद्को बैठकले उनलाई स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको थियो ।
बोर्डको कार्यालयमा पुग्दा निमित्त कार्यकारी निर्देशक डा सरोज शर्माले स्वागत गरेका थिए ।
पद बहालीपछि बोल्दै डा काफ्लेले आफूले जागिरेको रुपमा नभई देश र जनतालाई कसरी योगदान गर्ने भन्नेमा लागि पर्ने बताए । उनले भने यो हाम्रा लागि योगदान गर्ने अवसर पनि हो, अझ सेवा सुविधा लिएर सेवा गर्ने अवसर भएकोले अझ बढी योगदान गर्नुपर्छ ।
उनले आफ्नो प्राथमिकतामा चार वटा मुख्य काम रहेको भन्दै त्यसमा युनिभर्सल हेल्थ कभरेज, वित्तीय दिगोपना, सेवा प्रवाह सुलभ सरल तथा गुणस्तरीय बनाउने र संस्थागत क्षमता सुदृढ गर्नु रहेको बताए ।
कार्यकारी निर्देशक काफ्लेले अर्थशास्त्रमा विद्यावारिधी गरेका छन्। काफ्ले स्वास्थ्य मन्त्रालयले केही समयअघि गठन गरेको स्वास्थ्य बीमा सुधार कार्यदलको सदस्य समेत थिए।
यस्तै उनले वैदेशिक रोजगार बोर्डको कार्यकारी प्रमुखको रुपमा ४ वर्ष काम गरेका छन्। उनले गण्डकी प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षको रुपमा १९ महिना काम गरेका थिए।
डा काफ्लेले जिम्मेवारी सम्हाल्दै गर्दा स्वास्थ्य बीमा कार्यक्रम भने अफ्टेरो अवस्थामा पुगेको छ ।
देश भर यो कार्यक्रम सञ्चालनमा रहेको भने प्रभावकारी बन्न सकेको छैन । खासगरी विमितले गुणस्तरीय सेवाहरु पूर्ण रुपमा पाउने विश्वसनीयता देखिदैन भने सेवा प्रदायक संस्थाहरुले उपचार वापतको सोधभर्ना रकमको ठूलो हिस्सा पाउन नसकेको अवस्था छ ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



