स्वास्थ्य पत्रकार मञ्च नेपालसंग सहकार्य गर्न चाहन्छौँ : स्वास्थ्य मन्त्री पौडेल

काठमाडौँ, १३ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य पत्रकार मञ्च नेपालसंग सहकार्य गरी अघि बढ्न चाहेको बताएका छन् । शनिबार मञ्चको दशौँ बार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री पौडेलले स्वास्थ्य पत्रकारिता अरु भन्दा विशिष्ठ भएको र स्वास्थ्य क्षेत्र सुधारका लागि समेत महत्वपूर्ण हुने भन्दै मञ्चलाई अझ फराकिलो र विस्तार गर्नु पर्ने बताए । उनले मन्त्रालयले मञ्चलाई आफ्नै परिवारको हिस्साको रुपमा लिएको समेत बताए ।
स्वास्थ्य सूचना, जानकारी संगै सचेतनाका कुरामा स्वास्थ्य पत्रकारको भूमिका महत्वपूर्ण हुने भन्दै दक्षता अभिबृद्धिका लागि मञ्चसंग सहकार्य गर्न मन्त्रालय तयार रहेको बताए ।
सो अवसरमा बोल्दै मन्त्री पौडेलले अब निरोधात्मक प्रणाली आवश्यक रहेको भन्दै अब यस्ता खालका छुट्टै अस्पताल स्थापना गरी अघि बढ्नु पर्ने बताए । उनले स्वास्थ्य बीमा व्यवस्थित नगरेसम्म स्वास्थ्य क्षेत्र व्यवस्थित नहुने भन्दै त्यसलाई व्यवस्थित गर्ने कार्यमा आफू लागेको बताए ।
कार्यक्रममा औषधी व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले स्वास्थ्य पत्रकारिताको महत्वको बारेमा चर्चा गर्दै सहि सूचना दिनु पत्रकारको दायित्व र जिम्मेवारी हुने बताए । उनले स्वास्थ्यका कतिपय समाचारहरु भ्रमित गर्ने खालका समेत आफूले पाइरहेको भन्दै यस्ता कार्यमा सुधार गर्नु पर्ने बताए ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिलबिक्रम कार्कीले स्वास्थ्यको विषय सम्वेदनशील भएको भन्दै यसमा आवद्ध हुने पत्रकारले विशेष ध्यान दिनुपर्ने बताए । संघले पत्रकारहरुसंगकै सहकार्यमा हेल्थ जर्नालिजम करिकुलम बनाउने काम गरेको जानकारी दिए । उनले समाजमा सही समाचार जाओस भनेरै यस विषयलाई संघले उठाएको बताए ।
यस्तै कार्यक्रममा विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा विनोद गुप्ताले स्वास्थ्य क्षेत्र सुधारका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने भन्दै सही सूचना प्रवाह गरेर स्वास्थ्य सचेतनाको काम अघि बढाउन सकिने विचार व्यक्त गरे ।

कार्यक्रममा एशिया प्यासेफिक टोबाको कन्ट्रोल भाइटल स्ट्राटेजीका निर्देशक डा तारासिंह बमले नेपालको स्वास्थ्य क्षेत्रमा बुझाई र गराईमा फरक देखिएको भन्दै यसबाट ठोस उपलव्धी हासिल हुन समस्या भएको बताए । उनले नेपालको स्वास्थ्य नीति सहि मार्गबाट अघि बढेको छ कि छैन भनेर स्वास्थ्य पत्रकारले झक्झक्याउनु पर्ने बताए ।
यस्तै एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले स्वास्थ्य पत्रकार मञ्चसंग स्वास्थ्यका विभिन्न विषयमा विगत देखि नै सहकार्य गर्दै आईरहेको भन्दै भावि दिनमा पनि त्यो कार्य जारी रहने बताए । उनले पत्रकारितालाई मर्यादित र व्यवस्थित गराउनका लागि स्वास्थ्य पत्रकार मञ्च सफल रहोस भन्दै शुभकामना दिए ।
कार्यक्रममा नेपाल नेत्र ज्योति संघका अध्यक्ष प्राडा चेतराज पन्तले स्वास्थ्य क्षेत्र सुधारका लागि स्वास्थ्य पत्रकारिताको महत्वपूर्ण योगदान रहेको भन्दै यसमा स्वास्थ्य पत्रकार र मञ्चको सकारात्मक भूमिका रहने विश्वास व्यक्त गरे ।
नेपाल औषधी उत्पादक संघ (एपोन)का उपाध्यक्ष सन्तोष बरालले स्वास्थ्य पत्रकार मञ्चसंग एपोन सहकार्य गर्दै आएको सहि र तथ्यपरक समाचार हुनुपर्नेमा जोड दिए । उनले औषधीसंग जोडिएका कतिपय प्राविधिक विषयहरु गलत रुपमा आइरहेको समेत गुनासो गरे ।
शारदा सुदर्शन देवकोटा फाउण्डेशनका तेजकुमार बास्तोलाले स्वास्थ्य पत्रकार मञ्चसंग फाउण्डेशनले विगत चार वर्ष देखि सहकार्य गर्दै आएको भन्दै व्यवस्थित र मर्यादित पत्रकारिताका पक्षमा आफू रहेको बताए ।
कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्च नेपालका निवर्तमान अध्यक्ष रामप्रसाद न्यौपाने तथा पूर्व अध्यक्ष कल्पना आचार्यले स्वास्थ्य पत्रकारिता र स्वास्थ्य पत्रकार मञ्चको विषयमा चर्चा गर्दै मञ्चले विगतमा गरेका काम र भविस्यमा गर्नुुपर्ने कामका विषयमा सुझाव दिएका थिए ।
बरिष्ठ उपाध्यक्षले स्वागत मन्तव्य दिएको अधिवेशनको उद्घाटन सत्रको मञ्चका अध्यक्षता सरोज ढुंगेलले गरेका थिए ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



