स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न १० वटा मेडिकल कलेजसहित १२ वटा अस्पताल सूचीकृत (सूचीसहित)

काठमाडौँ, १८ जेठ । स्वास्थ्य बीमा बोर्डले १० वटा ठूला मेडिकल कलेज शिक्षण अस्पताल र २ वटा आँखाको अस्पताल सहित १२ वटा स्वास्थ्य संस्थामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका लागि स्वीकृति प्रदान गरेको छ ।

स्वीकृति प्रदान भएका स्वास्थ्य संस्थामा अगामी १ साउन देखि स्वास्थ्य बीमा सेवा लागू हुने बताइएको छ ।

बीमा बोर्डका सूचना अधिकृत ओमकुमारी कँडेलका अनुसार दुई वटा आँखा अस्पतालहरुमा बिर्ताज्योति आईकेयर प्रालि झापा र दृष्टि आई अस्पताल पोखरा रहेका छन् ।

यस्तै १० वटा मेडिकल कलेज टिचिङ अस्पतालहरुमा काठमाडौँ उपत्यकाका चारवटा र बाहिरका छ वटा रहेका छन् ।

वीमा कार्यक्रममा सूचीकृत भएका अस्पतालहरुमा काठमाडौँ मेडिकल कलेज टिचिङ हस्पिटल (केएमसी अस्पताल) सिनामंगल काठमाडौँ, मनमोहन मेडिकल कलेज शिक्षण अस्पताल सितापाइला काठमाडौँ, नेपाल मेडिकल कलेज शिक्षण अस्पताल जोरपाटी र किष्ट मेडिकल कलेज टिचिङ हस्पिटल ग्वार्को रहेका छन् ।

यस्तै स्वास्थ्य बीमा कार्यक्रमका लागि सूचीकृत भएका उपत्यका बाहिरका मेडिकल कलेजहरुमा बीएण्डसी मेडिकल कलेज शिक्षण अस्पताल झापा, नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल बिराटनगर, बिराट मेडिकल कलेज शिक्षण अस्पताल बिराटनगर, चितवन मेडिकल कलेज शिक्षण अस्पताल भरतपुर, देवदह मेडिकल कलेज खैरनी रुपन्देही, र नेपालगञ्ज मेडिकल कलेज बाँके रहेका छन् ।

यी मध्ये अधिकांशले दुई वर्ष आएको बजेटपछि स्वास्थ्य बीमा कार्यक्रम रोकेका थिए । तर पछि उनीहरुले पुन वीमा कार्यक्रम सञ्चालन गर्न पाउँ भन्दै सरकारसंग माग गर्दै आएका थिए ।

‘केही तयारी पछि नयाँ आर्थिक बर्षबाट यी सबै संस्थामा वीमा कार्यक्रम सञ्चालन हुनेछ । आज बीमा बोर्डसंग उनीहरुले सेवा प्रदान गर्ने विषयमा सम्झौँता भएको छ,’ कँडेलले भनिन् ।

ठूला अस्पताल तथा मेडिकल कलेजहरुमा स्वास्थ्य वीमा कार्यक्रम सुरु हुँदा आम नागरिकलाई थोरै भए पनि राहत हुने अनुमान गरिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *