बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयमा दुई जना सचिव !

दुबै जना सचिव सर्बोच्चको अन्तरिम आदेशबाट हाजिर !

काठमाडौँ, १५ जेठ । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयमा दुई जना सचिव भएका छन् । मन्त्रालयमा पहिले देखि कार्यरत बद्रीबहादुर खड्का र पछिल्लो पटक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवाको पत्र लिएर गएका डा. प्रवीण श्रेष्ठ सचिवको रुपमा हाजिर भएका छन् ।

संयोग कस्तो भएको छ भने दुबै जना सचिवहरुले हाजिर हुनका लागि सर्बोच्चबाट अदालतबाट अन्तरिम आदेश लिनु परेको छ ।

केही वर्ष अघि देखि सचिव पदमा कार्यरत खड्काले सरुवा भए पनि सर्बोच्च अदालतबाट दुई पटक अन्तरिम आदेश लिएर आफ्नो पद सुरक्षित गरेका छन् । यता संघीय सरकार मन्त्रिपरिषद बैठकले सचिव बनाएर पठाएको डा श्रेष्ठले पनि सचिव पदमा हाजिर हुनका लागि सर्बोच्चबाटै अन्तरिम आदेश लिनु परेको छ ।

अहिले प्रदेश सचिव संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले तोक्ने कानूनी व्यवस्था छ । गत १३ बैशाखको मन्त्रिपरिषद् बैठकबाट बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयमा सचिव पदमा कार्यरत रहने गरी डा श्रेष्ठलाई पठाएको थियो ।

तर, सर्बोच्चको अन्तरिम आदेश लिएर बसेका खड्काले उनलाई पद छोड्न मानेनन् । त्यसपछि हाजिर हुन पाउँ भन्दै डा श्रेष्ठ सर्बोच्च गए । सर्बोच्चले गत ९ जेठमा हाजिर गराउनु भन्दै डा श्रेष्ठको पक्षमा अन्तरिम आदेश जारी गरेको थियो । र, किन हाजिर नगराएको भन्दै प्रदेश स्वास्थ्य मन्त्रालयलाई कारण देखाउ आदेश समेत जारी गरेको थियो ।

सर्बोच्चको अन्तरिम आदेशपछि डा. श्रेष्ठ पनि हिजो प्रदेश स्वास्थ्य मन्त्रालयमा हाजिर भएका छन् । ‘सचिवकै रुपमा हाजिर भएको छु । जिम्मेवारी त तोकिईसकेको छैन । विस्तारै तोकिएला नि,’ उनले छोटो प्रतिक्रिया दिए ।

यता खड्काले पनि सर्बोच्चबाट नै पूर्ववत रुपमा सर्वाधिकारसहित कार्य सञ्चालन गर्नु भन्दै अन्तरिम आदेश पाएकोले डा. श्रेष्ठलाई के जिम्मेवारी दिने भन्नेमा मन्त्रालय अन्योल छ ।

सचिव खड्कासंग यस विषयमा प्रतिक्रिया लिने प्रयास भने सफल हुन सकेन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *