सर्लाहीमा ८ लाखभन्दा बढीलाई हात्तीपाइलेबिरुद्धको औषधि खुवाइने

 

सर्लाही, ४ वैशाख । सर्लाहीमा ८ लाखभन्दा बढीलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । मंगलबार स्वास्थ्य कार्यालय सर्लाहीमा आयोजित हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियानको जिल्लास्तरीय अन्तरक्रियामा उक्त जानकारी दिइयो ।

जिल्लाभरिबाट दुई वर्ष उमेर समूहभन्दा माथिका आठ लाख २४ हजार छ सय ७१ जनालाई हात्तीपाइलेविरुद्धको औषधि सेवन गराउन लागिएको कार्यालय प्रमुख डा नवलकिशोर झाले जानकारी दिए ।

राष्ट्रव्यापी कार्यक्रमअन्तर्गत यही वैशाख १६ गतेबाट २९ गतेसम्म अभियान सञ्चालन गरिने भएको छ । अभियानमा पाँच सय २५ जना स्वास्थ्यकर्मी र एक हजार तीन सय २६ जना महिला स्वास्थ्य स्वयमसेवीका गाउँगाउँमा परिचालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालय सर्लाहीका अनुसार गतवर्ष पनि यस जिल्लामा सात लाख ६२ हजार छ सय ८४ जनालाई हात्तीपालेविरुद्धको औषधि खुवाइएको थियो ।

गर्भवती, सात दिनसम्मका सुत्केरी, गम्भीर किसिमका बिमारीलगायतले भने यो औषधि सेवन गर्न नहुने डा झाको भनाइ छ । हात्तीपाइले रोगबाट बच्न अन्य सबैले अनिवार्य रूपमा औषधि सेवन गर्नुपर्ने उनको भनाइ छ ।

औषधि सेवनका क्रममा जिल्लामा अहिलेसम्म कुनै किसिमको गम्भीर समस्या नदेखिएकाले निर्धक्क भएर अभियानमा सहभागी भई औषधि सेवन गर्न सबैमा स्वास्थ्य कार्यालय सर्लाहीले आग्रह गरेको छ ।

जिल्लाका शतप्रतिशतलाई औषधि खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको हो । यो अभियानअन्तर्गत देशभरिका सात जिल्लामा औषधि खुवाउन लागिएको हो । त्यसमध्ये मधेसमा सर्लाहीसहित चार जिल्लामा यो अभियान सञ्चालन गरिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *