अङ्ग प्रत्यारोपणको क्षेत्रमा क्रियाशिल नेपाली चिकित्सकहरुको दुईवटा संस्था एक हुँदै

दुई संस्थाबीच एकता पछि के हुन्छ नाम ? कसले गर्दैछ नेतृत्व ?

काठमाडौँ, ३० फागुन ।  नेपालमा अङ्ग दान तथा प्रत्यारोपण क्षेत्रमा क्रियाशिल चिकित्सकहरुको दुईवटा संस्थाबीच एकता हुने भएको छ । मिर्गौला प्रत्यारोपण सर्जन डा. पुकारचन्द्र श्रेष्ठले नेतृत्व गरेको नेप्लीज सोसाइटी अफ अर्गान ट्रान्सप्लान्टेशन ( एनईएसओटी) र डा. ऋषिकुमार काफ्लेले नेतृत्वको गरेको नेपाल ट्रान्सप्लान्टेसन सोसाइटी (एनटीएस) बीच एकता हुन लागेको हो ।

विश्व मिर्गौला दिवसको पूर्व सन्ध्यामा बुधबार जारी एक विज्ञप्तीले निकट भविस्यमै दुई संस्था एक हुन लागेको स्पष्ट पारेको छ ।

हुन पनि भोलि बिहिबार मनाउन लागिएको विश्व मिर्गौला दिवस तथा १४ औँ नेपाल खेलकुद प्रतियोगितामा दुई संस्थाले संयुक्त रुपमा मनाउने निर्णय गरेका छन् । यसअघि यस्ता दिवस छुट्टा छुट्टै रुपमा मनाउने गरिएको थियो ।

एनटीएसका अध्यक्ष डा. काफ्लेले उस्ता उस्तै संस्था छुट्टा छुट्टै काम गर्नु भन्दा एक भएर अघि बढ्दा धेरै कुरामा फाइदा हुने भन्दै एकता गर्न लागेको बताए । उनले मर्जहुँदाको नाम, नेतृत्व कसले कसरी गर्ने आदि विषयमा भद्र सहमति समेत भइसकेको भन्दै अब दर्ताको प्रक्रियामा अघि बढेको बताए ।

यता एनईएसओटीका सचिव डा. कल्पना श्रेष्ठले दुई संस्था एक हुने विषयमा छलफल भई कानूनी रुपमा एक हुने प्रक्रियामा अघि बढेको बताईन् । ‘मर्ज भई नयाँ संस्था बन्दै गर्दा आवश्यक विधान देखि व्यवस्थापनका कुराहरुमा अहिले काम भइरहेको छ । नयाँ बर्ष देखि यो कामले पूर्णता पाउनेछ,’ उनले भनिन् ।

के हुन्छ नाम कसले गर्दैछ नेतृत्व ?
गत ७ पुसका दिन काठमाडौँको होटल र्‍याडिसनमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अंग प्रत्यारोपण समाजको संयुक्त आयोजनामा भएको प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलन सम्पन्न भएको थियो । सोही दिन यी दुई संस्थाबीच एकता गर्ने सहमति भएको थियो ।

सहमति मात्रै होइन एकता पछि नाम के राख्ने ? कसले नेतृत्व गर्ने र कसरी अघि बढ्ने भन्ने विषयमा समेत दुई पक्षबीच लिखित सम्झौँता भएको थियो ।

नेपाली हेल्थलाई प्राप्त विवरण अनुसार  नेप्लीज सोसाइटी अफ अर्गान ट्रान्सप्लान्टेशन ( एनईएसओटी) र नेपाल ट्रान्सप्लान्टेसन सोसाइटी (एनटीएस) एकता भएपछि संस्थाको नाम ‘सोसाइटी अफ अर्गान ट्रान्सप्लान्टेशन नेपाल (एसओटीएन)’ बनाउने सहमति भएको छ ।

यस्तै नयाँ संस्था दर्ता भइसकेपछि त्यसको नेतृत्व पहिलो तीन वर्ष अर्थात २०८१ बैशाख देखि २०८३ चैतको अन्तिमसम्म डा. पुकारचन्द्र श्रेष्ठले गर्नेछन् । त्यसपछिको तीन वर्ष अर्थात २०८४ बैशाख देखि २०८६ चैतको अन्तिमसम्म एसओटीएनको नेतृत्व प्राडा दिव्यासिंह शाहले गर्नेछिन् ।

त्यसबेला नै दुई वटा कमिटिको संयुक्त बैठकले डा. कल्पनाकुमारी श्रेष्ठलाई नयाँ विधान तयार गरी ३० फागुन २०८० अर्थात आजको दिन सम्ममा दर्ता प्रक्रिया पुरा गर्न जिम्मेवारी तोकेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *