आज विश्व श्रवण दिवस:

सोसाइटीले भन्यो, बहिरोपना बारेमा थाहा पाउनु पर्ने १० कुरा

काठमाडौँ, २० फागुन । आज मार्च ३ अर्थात विश्व श्रवण दिवस । विश्व स्वास्थ्य संगठनको आव्हानमा, ‘बदलिदो मानसिकता: कान र श्रवण हेरचाहलाई सबैका लागि सम्भव बनाऔं’ भन्ने नाराका साथ विश्वभर विविध कार्यक्रम गरी मनाइदै छ ।

दिवसकै सन्दर्भ पारेर आजै यस संग सम्वन्धित नेपाली चिकित्सकहरुको संस्था सोसाइटी अफ ओटोल्यारिङ्गोलोजिष्ट अफ नेपालले आज जनचेतनामुलक प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

सोसाइटीका अध्यक्ष प्राडा दिपेन्द्र श्रेष्ठ र महासचिव डा. योगेश न्यौपानेले विज्ञप्ती जारी गर्दै बहिरोपनाको समस्याबाट जोगाउन आम अभिभावक तथा सर्वसाधारणले के के कुरामा ध्यान दिने भनेर जानकारी गराएका छन् ।

हुन पनि बहिरोपन अपाङ्गतामध्ये प्रमुख अपाङ्गतामा पर्दछ । विश्व स्वास्थ्य संघको २०१८ को तथ्याङ्गअनुसार संसारभर ४६ करोड (६.१५ प्रतिशत) मानिसहरुमा श्रवण अशक्तता अर्थात बहिरोपनाको समस्या छ ।

केहि वर्ष अगाडिको तथ्याङ्ग अनुसार नेपालमा १५५ बहिरोपन विद्यमान छ, त्यसमध्ये धेरै जसो बहिरोपन रोकथाम गर्न सकिन्छ । सोसाइटीले नेपालमा बहिरोपनबाट बच्न र बचाउनको लागि सरकारी स्तरबाट देशव्यापी रुपमा सर्वेक्षण गर्नु जरुरी रहेको उल्लेख गरेको छ ।

यसैबीच सोसाइटीले विश्व श्रवण दिवसको सन्दर्भ पारेर आम अभिभावक तथा सर्वसाधारणका लागि सन्देश जारी गर्दै बहिरोपन रोकथाम गर्न केही कुराहरुमा ध्यान दिनुपर्ने बताएको छ ।

अध्यक्ष प्राडा श्रेष्ठ र महासचिव डा न्यौपानेद्धारा हस्ताक्षरित सन्देशमा बहिरोपन रोकथाम गर्नको लागि निम्न कुराहरुमा ध्यान दिनुपर्ने उल्लेख छ ।

हेरौँ ध्यान दिनुपर्ने १० कुराहरु :

१. संक्रमणबाट कानलाई बचाउँनुपर्दछ। कान पाकिहाले नजिकैको चिकित्सकसगँ सल्लाह लिनुपर्दछ । रुघाखोकी लागेमा मध्यकान र नाकको पछाडि भाग जोडने नली बन्द हुन जान्छ । यो नली लामो समयसम्म बन्द भईरहेमा मध्य कानमा असर पर्दछ । यो समस्या बच्चाहरुमा बढी देखा पर्ने भएकोले बच्चाहरुलाई रुघाखोकी लाग्नबाट बचाउँनको लागि आमाको दुध खुवाउने, दुध खुवाउदा बसालेर खुवाउने, घर वरिपरि पाईने ताजा खानेकुरा खुवाउने र जड़ फुड नखुवाउने गर्नुपर्दछ । यस्तै रुघा लागेमा तातो, तातो झोल पदार्थ खुवाउनु पर्दछ र निको नभएमा नजिकैको स्वास्थ्य चौकी वा अस्पतालमा लैजानु पर्दछ ।

२. कानलाई चोटपटकबाट बचाउँनु पर्दछ । कान कोट्याउदा कानको जालीमा असर पर्दछ र जाली फुटने सम्भावना हुन्छ । त्यसैले कान कोट्याउनु हुँदैन भन्ने कुरा जनमानसमा सिकाउँनु पर्दछ ।

३. बच्चामा सुनाई सम्बन्धि शंका लागेमा नजिकैको चिकित्सक सम्म पुर्‍याई उनीहरुको सल्लाह लिनु पर्दछ ।

४. कानमा तेल अथवा अरु कुनै पनि झोल पदार्थ हाल्नु हुँदैन ।

५. गर्भवती भएको पहिलो तिन महिनासम्म आफु खुसी औषधिको सेवन गर्नु हुँदैन, गर्नै परेमा चिकित्सकको सल्लाह लिनुपर्दछ । गर्भवती आमाले जाँडरक्सी र चूरोट सेवन गर्नुहुँदैन ।

६. आफ्नो बच्चाले नसुन्ने शंका लागेमा सम्बन्धित चिकित्सकलाई जचाई सल्लाह लिनु पर्दछ ।

७. सर्वसाधारणको जमघट हुने स्थानमा चर्को ध्वनी उत्पन्न हुने उपकरणको प्रयोग गर्नु हुँदैन । वाजाहरु पनि धेरै चर्को रुपमा बजाउँनु हुँदैन । गाडिको हर्न निषेध गरिएको ठाउँमा चर्को हर्न बजाउँनु हुँदैन ।

८. मोवाइल वा हेड फोन धेरै समयसम्म प्रयोग गर्नु हुँदैन । गर्नै परे चर्को सुन्नु हुँदैन ।

९. कलकारखानामा काम गर्ने व्यक्तिहरुले इएर प्लगको प्रयोग गरी कानलाई चर्को ध्वनीबाट बचाउँनु पर्दछ। यस्ता ठाउँमा कम्तिमा वर्षको एकपटक श्रवण परिक्षण गर्ने व्यवस्था मिलाउनुपर्दछ ।

१०. श्रवण शक्तिलाई कसरी बचाउँन सकिन्छ, श्रवण शक्तिको ह्रास भईहालेमा के कस्ता विधिहरु अपनाएर रोकथाम र्गा सकिन्छ र छिटो भन्दा छिटो बच्चामा श्रवण शक्तिको परिक्षण कसरी गर्न सकिन्छ भन्ने बारे सर्वसाधारणलाई विभिन्न माध्यामबाट शिक्षा दिनुपर्दछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *