नेपालमै पहिलो पटक गंगालाल अस्पतालमा भयो मुटुको ‘डबल स्वीच शल्यक्रिया’

काठमाडौँ, २५ माघ । बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा पहिलो पटक मुटुको ‘डबल स्वीच शल्यक्रिया’ सफल भएको छ। अति जटिल र जोखिमयुक्त मानिने उक्त शल्यक्रिया यसअघि नेपालमा भएको थिएन ।

अस्पतालका डा. रविन्द्रभक्त तिमलाको नेतृत्वमा डा. मरिषा अर्याल, डा. सुजन बोहरा र डा. सन्दीप भण्डारीको टोलीले नवलपरासीको १४ वर्षीया बालिकाको उक्त शल्यक्रिया गरेको हो।

चिकित्सकका अनुसार उक्त बालिकामा सानैदेखि निलो हुने, दौडिन नसक्ने र बेला–बेलामा अर्धचेत हुने समस्या देखिँदै आएको थियो ।  कमजोर आर्थिक कारणले परिवारले उनको उचित उपचार गर्न सकिरहेका थिएनन् ।

डा. तिमलाका अनुसार साइटस इनभर्सस, करेक्टेड ट्रान्सपोजिसन अफ ग्रेट आर्टरिज, भेन्ट्रिकुलर सेप्टल डिफेक्ट, पल्मोनरी स्टेनोसिस जस्ता चारवटा संरचनागत त्रुटी भएको बालिकाको मुटुको र बाहिर गरी दुई ठाउँमा रगत विपरीत ठाउँमा बगिरहेको थियो ।

उनले  शल्यक्रियामार्फत भित्र र बाहिर दुवैतर्फ रगत बग्ने बाटो मिलाइएको बताए ।

डा. तिमलाका अनुसार प्राविधिक रुपमा ‘सेनिङ’ र ‘रुस्टेली’ नामक दुई वटा छुट्टै शल्यक्रिया गर्न उक्त बालिकाको साढे चार घन्टा मुटु पूरै बन्द गरिएको थियो । यस्तै शल्यक्रिया गर्न १० घन्टा लागेको थियो ।

केही दिनमै डिस्चार्ज हुने तयारीमा रहेकी ती बालिकाको उपचार सरकारको निशुल्क कार्यक्रम अन्तर्गत गरिएको थियो।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *