भारतमा एमबीबीएस र पीजी सीट १० बर्षमा दोब्बर बृद्धि

नयाँ दिल्ली । भारतमा एमबीबीएस र पीजी (पोष्ट ग्राजुएट्स) सीटहरुको संख्या विगत दशवर्षमा दोब्बरले बढेको छ । शनिबार केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री डा मनसुख मण्डावियाले तथ्यांक प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् ।

उनका अनुसार देशमा अहिले एमबीबीएसको कुल सिटसंख्या १ लाख ८ हजार ९४० पुगेको छ । दश वर्ष अघि अर्थात सन् २०१४ मा एमबीबीएस सिट ५१ हजार ३४८ मात्रै थियो । उनले त्यस यताको दश वर्षमा ५७ हजार ५९२ (११२ प्रतिशतले) एमबीबीएस सीट थपिएको बताए ।

यस्तै पीजी सीट पनि पछिल्लो दश वर्षमा दोब्बर बढी बृद्धि भएको छ । अहिले देशमा पीजी अध्ययनका लागि कुल सीट संख्या ७० हजार ६७४ पुगेको बताए । उनले सन् २०१४ देखि २०२४ सम्ममा थप ३९ हजार ४८९ (१२७ प्रतिशत) सीट थपिएको मन्त्री माण्डवियाले जानकारी दिए ।

त्यसो त गत महिना राज्यसभालाई लिखित जानकारी दिने क्रममा केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण राज्यमन्त्री डा भारती प्रवीण पवारले केन्द्रीय योजना अन्तगर्त १५७ वटा सरकारी मेडिकल कलेजहरुलाई तीन चरणमा स्वीकृत गरिएको बताए । उनले त्यसमध्ये १०८ वटा भने पहिले देखि नै सञ्चालनमा आएको बताए ।

उनले सरकारले मेडिकल कलेजको संख्या बढाएर एमबीबीएसको सीट थपिएको दावी गरे । सरकारी तथ्यांक अनुसार सन् २०१४ मा ३८७ वटा भएको मेडिकल कलेज सन् २०२३ को अन्त्यमा पुग्दा ७०६ पुगेको छ ।

भारतले पछिल्लो समय मेडिकल कलेज, अस्पतालहरुको संख्यामा व्यापक बृद्धि गर्ने रणनीति अघि सारेको छ । मेडिकल टुरिजमलाई व्यवस्थित गर्ने योजना, संसार भरका नागरिकलाई उपचार तथा अध्ययनका लागि बोलाएर डलर भित्र्याउने मोदी सरकारको महत्वकांक्षी घोषणा रहेको छ ।

‘बसुदैव कुटुम्बकम’को नारा अघि सारेको भारतमा उपचारका लागि पछिल्लो दश वर्षमा आउने विदेशीको संख्या समेत उल्लेख्य बृद्धि भएको बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *