चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको हृदयघातबाट निधन

काठमाडौँ — चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको ६८ वर्षको उमेरमा निधन भएको चिनियाँ सञ्चार माध्यमले बताएका छन् । प्रधानमन्त्रीबाट हटेसँगै सांघाईमा बसिरहेका उनलाई बिहीबार राति हृदयघात भएको बताइएको छ ।

चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीका अनुसार उनलाई स्थानीय समय अनुसार बिहीबार मध्यरातमा हृदयघात भएको थियो ।

यता चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले लीलाई अक्टुबर २६ को दिन अचानक हृदयाघात भएको र अक्टुबर २७ को दिन स्थानीय समयअनुसार राति १२ बजेर १० मिनेटमा निधन भएको जनाएको छ ।

ली गत मार्च महिनामा मात्र प्रधानमन्त्रीको दोस्रो कार्यकाल पूरा गरेर बिदा भएका थिए ।

उनी चिनियाँ कम्युनिस्ट पार्टी ‘सीसीपी’को तल्लो तहबाट उठ्दै माथि पुग्ने नेताहरूमा गनिन्छन् ।

राष्ट्रपति सी जिनफिङपछि सत्तारूढ कम्युनिस्ट पार्टी अफ चाइनाका दोस्रो वरियतामा रहेका ली पछिल्लो समय सांघाइमा बस्दै आएका थिए ।

ली खछ्याङ सन् २०१३ मा चीनको प्रधानमन्त्री बनेका थिए । उनी चिनियाँ क्याबिनेटको स्टेट काउन्सिल प्रमुख थिए । २०१३ मा प्रधानमन्त्री बनेका ली करिब १० वर्षसम्म पदमा रहेका थिए ।

उनलाई कुनै समय चीनको भावी राष्ट्रपतिका रुपमा समेत हेर्ने गरिएको थियो ।

पेकिङ विश्वविद्यालयमा अध्ययन गरेका ली चीनको अर्थ नीतिका सुक्ष्म जानकार थिए ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *