चिकित्सकमाथि आक्रमण गर्नेलाई तत्काल कारबाही होस् : एमाले

काठमाडौँ, १० असोज । नेकपा एमालेले बिगत केहि दिनदेखि स्वास्थ्य संस्था र चिकित्सतक तथा स्वाास्थ्यकर्मीहरु माथि भएको दुर्व्यवहार, आक्रमण र तोडफोडप्रति निन्दा गर्दै दोषीलाई तत्काल कारबाही गर्न माग गरेको छ।

नेकपा एमाले स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख कृष्णगोपाल श्रेष्ठले बुधबार विज्ञप्ति जारी गर्दै विगत केही समयदेखि स्वास्थ्य संस्था र चिकित्सक तथा स्वास्थ्यकर्मीहरू माथि निरन्तर भइरहेको दुर्व्यवहार, आक्रमण र तोडफोडको निन्दा गरेका हुन् ।

‘विभिन्न जोखिम मोलेर बिरामीको सेवामा जुटिरहेका चिकित्सक लगायत स्वास्थ्यकर्मीलाई श्रृंखलाबद्ध सांघातिक हमला हुनुमा प्रशासन नै जिम्मेवार छ’, विभाग प्रमुख श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न बहानामा प्रशासनबाट कुनै कारबाही नहुने भएपछि अपराधीको मनोबल स्वतः बढ्ने नै भयो।’

‘विगतमा भएका चिकित्सक लगायत पेशागत संघ संगठनसँग भएका सम्झौता र प्रतिबद्धताहरू हालसम्म कार्यान्वयन भएको देखिएन, उल्टै दोषीहरूलाई सत्ताको आडमा राजनीतिक संरक्षण दिई कानुनी राज्यको उपहास गरिएको छ’, एमालेले विज्ञप्तिमा भनेको छ।

एमालेले घटनाको तत्काल अनुसन्धान गरी दोषीमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा ऐन २०६६ (पहिलो संसधेन ऐन २०७९) अनुसार कार्वाही गर्न माग गरेको छ ।

गत ७ असोजमा लमजुङ अस्पतालमा कार्यरत डा सन्दीप तिवारी , ८ असोजमा मणिपाल शिक्षण अस्पताल कास्कीमा आवासीय चिकित्सक माथि हातपात , त्यसपछि डा दिनेश विकको गिरफ्तारी र अस्पताल तोडफोड भएको थियो । यस्तै गत ८ गते नै बगौडा अस्पताल चितवनमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि दुव्र्यहार भएको थियो ।

स्वास्थ्य संस्था र चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि आक्रमणका घटना बढ्दै गएपछि केही दिनदेखि देशभरका चिकित्सक र स्वास्थ्यकर्मीहरु आन्दोलनमा छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *