यौन मनोविज्ञान र यौन समस्या समेटिएको पुस्तक ‘यौनका कुरा’ सार्वजनिक

 

काठमाडौँ, १९ साउन । यौनका बारेमा खुलेर कुरा गर्न लजाउने बेलामा डा. सुबोध कुमार पोखरेलले ‘रात परेपछि…..’ शीर्षकको टेलिभिजन कार्यक्रम सञ्चालन गरे ।

‘यौन स्वास्थ्य, यौन समस्याबारेमा आम दर्शक स्रोतासंग प्रत्यक्ष रुपमा जिज्ञासा लिने र समाधान गर्ने कार्यक्रम त्यसबेला सुपरहिट भएको थियो,’ डेढ दशक अघिका ती दिन सम्झँदै डा. पोखरेलले अगाडी थपे, ‘विसं २०७० को संविधान सभा निर्वाचनमा सभासद भएर संसद छिरेपछि थाहा भयो मलाई नचिनेको र नदेखेको त कुनै नेता नै हुनुहुँदो रहेनछ । सबैले एक्लै भेट हुँदा भन्नुहुन्थ्यो, तपाईँको रातपरेपछि कार्यक्रम निकै राम्रो छ ।’

‘यौन स्वास्थ्य र समस्या विकराल बन्दै गइरहेको छ । यसबारेमा खुलेर कुरा गर्न जो कोही सक्दैनन् । त्यसैले मैले यसमा केही गर्नु पर्छ भनेर अघि सरेँ,’ शुक्रबार ‘यौनका कुरा’ पुस्तकबारे चर्चा गर्ने क्रममा उनले आफ्नो विगत सम्झिए ।

नेपाल इस्टिच्युट अफ ह्युमन सेक्सुआलिटीले शुक्रबार गरेको यौन स्वास्थ्यको बर्तमान अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा उनले आफूद्धारा लिखित र भुँडीपुराण प्रकाशनद्धारा प्रकाशित पुस्तक ‘यौनका कुरा’को लोकार्पण गरे ।

यो यौन स्वास्थ्य सम्वन्धी उनले लेखेको चौथो पुस्तक हो । यसअघि उनको प्रेम, यौन र सम्भोग, सृष्टिको रोमान्स र सम्भोगकला गरि तीन वटा पुस्तक प्रकाशित भइसकेका छन् ।

पुस्तकमा यौनसम्बन्धी विभिन्न समस्याहरूको परिचय, लक्षण, असर र समाधानका सम्भावित उपायहरूका बारेमा चर्चा गरिएको छ ।

यौन समस्याको समाधानका क्षेत्रमा विगत झन्डै तीन दशकदेखिको आफ्नो अनुभव, अध्ययनका क्रममा पढेका पुस्तक तथा व्यवहारिक पक्षलाई समेटेर पुस्तक लेखिएको डा पोखरेलले बताए ।

उनले मानवीय यौनिकता बहुआयामिक विषय रहेको र मानसिक, शारीरिक, सामाजिक, सांस्कृतिक, व्यावहारिक अवस्था र परिवेशको प्रभाव प्रत्येक व्यक्तिको यौनव्यवहारमा देखिने भएकाले यौनका बारेमा खुलेर कुरा गर्नपर्ने बताए ।

नेपाली भाषामा मानवीय यौनिकताको वैज्ञानिक अध्ययन र विवेचना गर्ने गराउने उद्देश्यले रचना र प्रकाशन गरिएका धेरै कम पुस्तक उपलब्ध रहेको भन्दै आफूले त्यसमा प्रयास गरेको बताए ।

शारीरिक, मानसिक र संवेगात्मक आनन्दातिरेकको सर्वोच्च प्राप्तिनै यौन रहेको र यौनलाई स्वाभाविक जैविक आवश्यकताका रूपमा समेत व्याख्या गरिएको डा। पोखररेलले बताए ।

‘यौन उर्जाको केन्द्र हो । उनले भने, यौन विज्ञान अश्लिल र उत्ताउलो विषय होइन । मानिसले यौनबारे नबुझेर यसलाई नराम्रो दृष्टिले हेर्ने गरिन्छ। वास्तवमा यौनले उर्जालाई संकलन गर्छ, अनि उर्जालाई क्षति पनि गर्छ । त्यसैले हामीले यौन स्वास्थ्यप्रति ध्यान दिनपर्छ ।’

संविधानसभा सदस्य समेत रहेका डा पोखरेलले यौनका विषयले मर्यादित र उचित स्थान पाउनपर्नेमा जोड दिए ।

पुस्तकलाई दुई खण्डमा विभाजन गरिएको छ । पुस्तकको पहिलो खण्डमा यौन मनोविज्ञान र दोस्रो खण्डमा यौनसमस्या र तिनको समाधानमा केन्द्रित सामग्रीहरू समावेश गरिएका छन् ।

यौन मनोविज्ञानभित्र समाहित हुने विभिन्न पक्ष र त्यससँग जोडिएका स्वाभाविक परिणाम तथा क्रियाकलापहरूको वर्णन पहिलो खण्डमा गरिएको छ । त्यस्तै यौनका कारण स्त्री–पुरुष दुवैमा सिर्जना हुने विभिन्न स्वास्थ्य समस्या र तिनका समाधानसहितको सामग्री पुस्तकको दोस्रो खण्डमा उल्लेख गरिएको छ ।

भुँडीपुराण प्रकाशनका केशव पुडासैनीले स्वास्थ्य क्षेत्रका पुस्तक प्रकाशन गर्न पाउँदा गौरवान्तित भएको बताए । उनले यसअघि पनि स्वास्थ्यका विभिन्न विषयको पुस्तक प्रकाशित गरेको भन्दै यसले आम जनमानसको जीवनलाई सहज तुल्याउन केही न केही भूमिका खेल्ने बताए । यौनका कुरा पुस्तकको मूल्य ५२५ रुपैयाँ तोकिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *