डेंगीबाट ५ हजार ६ सय भन्दा बढी संक्रमित, ४ जनाको मृत्यु

काठमाडौँ, १६ साउन । पछिल्लो आठ महिनामा नेपालमा ५ हजार ६८८ जनामा डेंगी संक्रमण देखिएको छ । डेंगी संक्रमणकै कारण यहि अवधीमा ४ जनाले ज्यान गुमाएका छन् ।
डेंगी भाइरसको सङ्क्रमित मध्ये सबैभन्दा बढी सुनसरी जिल्लामा ३ हजार ४ सय ८६ जनामा डेंगीको सङ्क्रमण देखिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार लगातार परिरहेको पानीले गर्दा र सरसफाइमा ध्यान नदिँदा सङ्क्रमण दैनिक बढिरहेको छ । यही साउन १० गते चार हजार छ सय १९ जनामा देखिएको सङ्क्रमण त्यसपछिको ५ दिनमा त्यो सङ्ख्या बढेर ५ हजार ६ सय ८८ मा पुगेको छ ।
डेंगी पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेंगी रोग लाग्दछ ।
यसपटक कोशी प्रदेशमा सङ्क्रमण बढेको पाइएको छ । कोशी प्रदेशमा ३ हजार ८ सय २१, बागमती प्रदेशमा ९ सय ६२, गण्डकी प्रदेशमा ३ सय ५७, सुदूरपश्चिम प्रदेशमा ३ सय २५, लुम्बिनी प्रदेशमा १ सय ७०, कर्णाली प्रदेशमा २७ र मधेस प्रदेशमा २६ जनामा सङ्क्रमण देखिएको छ ।
नेपालमा पहिलो पटक सन् २००४ मा एक जनामा डेंगी देखिएको थियो । पहिलो वर्ष एउटा केस भेटिएकोमा गतवर्ष २०२२ मा सबैभन्दा बढी अर्थात कुल ५४ हजार ७८४ मा डेंगी देखिएको थियो ।
मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ ।
यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घरवरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन आग्रह गरेको छ ।
लामखुट्टेको टोकाईबाट सर्ने डेंगी रोगका लागि भदौ असोजसम्म मौसम समेत अनुकुल हुने बताइन्छ । डेंगी रोगबाट जोगिन लामखुट्टेको टोकाइबाट जोगिनु नै सबैभन्दा उत्तम उपाय भन्ने गरिएको छ ।
हालसम्म डेङ्गी सङ्क्रमण ७० जिल्लामा पुगेको छ ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

