बीपी प्रतिष्ठान धरानमा डेंगु उपचारका लागि ३० बेडको छुट्टै वार्ड सञ्चालन

काठमाडौँ, ८ साउन । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले डेंगु संक्रमितको उपचारका लागि छुट्टै वार्ड संचालनमा ल्याएको छ । प्रतिष्ठानले आइतबारदेखि डेंगुका बिरामीलाई उपचार गर्न तत्काल ३० श्यया सञ्चालनमा ल्याएको छ ।
प्रतिष्ठानको ‘सेन्ट्रल इमर्जेन्सी’ र ‘डेंगु क्लिनिक’ले धान्न नसकेपछि छुट्टै डेंगु श्यया सञ्चालनमा ल्याएको प्रतिष्ठानका कायममुकायम उपकुलपति डा. प्रह्लाद कार्कीले जानकारी दिए । सय श्यया क्षमताको कोभिड–१९ अस्पताललाई तत्कालका लागि डेंगुअस्पतालको रुपमा परिवर्तन गरेको उनले बताए।
पछिल्लो दुई दिनयता प्रतिष्ठानको ५० श्ययाको ‘अब्जर्भेसन वार्ड’मा ८५ प्रतिशत श्यया डेंगुका बिरामीले भरिएपछि छुट्टै डेंगु अस्पताल सञ्चालनमा ल्याएको उनले जानकारी दिए । केही दिनयता प्रतिष्ठानको आकस्मिक कक्षमा दैनिक ६० देखि ७५ जना डेंगु सङ्क्रमित आउने गरेका छन् ।
डेंगुको जोखिम बढेपछि उपचारबाट वञ्चित नहोऊन् भनेर प्रतिष्ठानले जनशक्तिको अभावका बीच पनि डेङ्गु अस्पताल सञ्चालनमा ल्याएको उनले बताए ।
बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानमा डेंगु प्रकोपका कारण चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जेठ २३ गते धरान १७ की ३० वर्षीया एक महिला, असार १५ गते धरान ११ की ४० वर्षीया एक महिला, साउन २ गते धरान ११ का ८० वर्षीय वृद्ध र धरान १८ की ८४ वर्षीया वृद्धाको मृत्यु भएको थियो ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

