क्यान्सरबारे डा. राजेन्द्र बरालका पाँच अनुच्छेद

डा. राजेन्द्र बराल, बरिष्ठ क्यान्सर रोग विशेषज्ञ

१.                दशकौँ पहिले हामीले, हामीले पढाई सुरु गरेका बेला ‘क्यान्सर ह्याज नो एन्सर’ भन्ने गरिन्थ्यो । आज त्यो गलत सावित भएको छ । अब ‘क्यान्सर ह्याव मल्टिपल एन्सर’ भएको छ ।  किनभने क्यान्सरको उपचारका लागि धेरै विधि, प्रविधि, औषधिहरु थपिए । शल्यक्रिया, केमो थेरापी, रेडिएसन थेरापी, टार्गेटेड थेरापी आदिबाट धेरै किसिमले उपचार गर्न सकिन्छ । यसरी गरिने उपचारबाट निको भई आफ्नो जीवनलाई सहज ढंगले विताई रहनु भएको छ । त्यसैले हामीले के बुझ्नु परयो भने क्यान्सर लाग्यो भन्ने वित्तिकै आत्तिनु भएन । उपचार जारी राख्नु पर्छ । विशेषज्ञहरुको सल्लाह लिनु पर्छ ।

२.                आजको दिनमा क्यान्सरको ९५ प्रतिशत उपचार नेपालमै सम्भव छ । केही प्रतिसत मात्रै थप प्रविधिको खोजीमा अन्यत्र जाने गरेको वा जानु पर्ने अवस्था देखिएको छ । भरतपुर, भक्तपुर, काठमाडौँ तथा अहिले नेपालगञ्जमा सरकारी तवरबाट ठूला क्यान्सर उपचार सेन्टर खोलिएका छन्, निजी क्षेत्रबाट त झन् कति हो कति ? संस्थाहरु थपिदै जाँदा सेवा सुविधा र प्रविधिमा पनि थप सुधार आउँदै जान्छ । उपचारका लागि ‘मल्टीपल च्वाइस’ हुने भयो यो राम्रो कुरा हो । त्यसैले म के भन्दछु भने हामीकहाँ पनि विश्व स्तरको सेवा उपलव्ध छ ।

३.                  प्राय सबैलाई थाहा छ, सुर्तीजन्य पदार्थको सेवनले क्यान्सर लाग्दछ । तर, धेरैलाई थाहा नहुन सक्छ मानव शरीरमा लाग्ने हरेक अंगको क्यान्सरको पहिलो कारक तत्व भनेको सुर्तिजन्य पदार्थ नै हो । सुर्तीजन्य पदार्थ भन्नाले चुरोट बिडी, हुक्का, पाइप, चिलिम, गुट्खा, खैनी, पान पराग, आदि पर्दछन् । त्यसैले यसको नियन्त्रण गर्नु जरुरी छ । हामीले हरेक वर्ष मे -३१ लाई विश्व धूमपान रहित दिवस भनेर मनाउँछौँ । तर यो त्यस दिन मात्रै होईन हरेक दिन मनाउनु पर्छ । यसबारेमा जनचेतना जगाउनु पर्छ । सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी कानूनको कडाईको साथ पालना हुनुपर्छ । आज भुटान, आयरल्याण्ड, कम्बोडिया जस्ता देशहरु टोवाको फ्रि कन्ट्रीको रुपमा पहिचान बनाइरहेका बेला हामीले करको दर समेत बढाउन सकिरहेका छैनौँ । त्यसैले कर बढाएर भएपनि यसको उपभोग घटाउन सरकार लाग्नु पर्छ । क्यान्सर मात्रै होइन सुर्तीजन्य पदार्थको प्रयोगले नसर्ने रोगका अरु धेरै समस्या ल्याउने गरेको पुष्टि भइसकेको छ ।

४.                 क्यान्सर एउटा अदभुत रोग हो । यसले उमेर, लिंग, अंग, जात, वर्ण कुनै छुटाउँदैन । जसलाई पनि जहिले पनि जहाँ पनि लाग्न सक्ने रोग हो क्यान्सर । शरीरको टाउको देखि खुट्टासम्म, भर्खर जन्मेको शिशु देखि बृद्ध अवस्थासम्म, कुनै पनि धर्म, जातका व्यक्तिलाई लाग्न सक्ने रोग हो क्यान्सर । हाम्रो शरीर सुक्ष्म कोषिकाले बनेको हुन्छ, कुनै कारणवस ती सुक्ष्म कोषिकाको अनियन्त्रित बृद्धि गयो भने त्यो क्यान्सर हो । वजन कम गर्ने, नियमित व्यायम गर्ने, सन्तुलित भोजन गर्ने गरेमा ५० देखि ६० प्रतिशत क्यान्सर लाग्ने सम्भावना कम हुन्छ ।

५.                  क्यान्सर मात्रै होइन स्वास्थ्यका बारेमा जनचेतना जगाउन जरुरी छ । तर क्यान्सर हुन नदिनका अझ बढी जरुरी छ । सुर्तीजन्य पदार्थको उपभोग नगर्ने, व्यायम गर्ने, तौल नियन्त्रणमा राख्ने, खानपान स्वस्थकर बनाउँदा क्यान्सरको सम्भावना कम हुन्छ । यस्तै क्यान्सर हुने सम्भावना छ कि छैन भनेर स्क्रिनिङ तथा परीक्षण गर्न सकिन्छ । क्यान्सर सुरुमै पत्ता लाग्यो भने लामो उपचार तथा ठूलो खर्च समेत जोगिन्छ । यी सबैका लागि सचेतना जरुरी छ । यसमा मिडियाको ठूलो भूमिका हुन्छ ।


 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *