फार्मेसी अधिकृत मृत्यु प्रकरण : सत्य तथ्य छानविन गरी दोषीमाथि कारवाही गर्न पेशागत संगठनहरुको माग

काठमाडौँ, ३० असार । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका फार्मेसी अधिकृत अमृत पोखरेलको मृत्यु प्रकरणलाई गम्भीरताका साथ लिन पेशागत संगठनहरुले माग गरेका छन् । उनीहरुले घटनालाई रहस्यमय भन्दै गम्भीर ढंगले अनुसन्धान तथा छानविन गरी दोषीमाथि कारवाही गर्न माग गरेका छन् ।
३५ वर्षीय पोखरेल शुक्रबार विहान साढे ८ बजे तिर अस्पतालको दोस्रो तल्लामा मृत अवस्थामा फेला परेका थिए । प्रहरीले घटनास्थलबाट सुसाइट नोट बरामद गरेको थियो । जसमा पोखरेलले आफूलाई फसाउन खोजिएको उल्लेख गरेका थिए ।
पछिल्लो केही समय देखि अस्पताल प्रशासनले उनी सहित ७ जनालाई फार्मेसीको औषधि हिनामिना गरेको आरोपमा छानविन अगाडी बढाएको थियो । तर छानविनमा परेका मध्ये अरुलाई सामान्य र उनलाई असामान्य व्यवहार गरिएको अस्पतालका सहकर्मीहरुले बताएका छन् ।
पोखरेलको मृत्युपछि नेपाल फार्मास्युटिकल एसोसिएसनले शुक्रबार जारी गरेको विज्ञप्तीमा अस्पताल प्रशासनका पदाधिकारीहरुले मानसिक यातना दिई आत्महत्या गर्न मजबुर बनाएको उल्लेख छ ।
एसोसिएसनका अध्यक्ष ललितमोहन पन्त र महासचिव सञ्जीव शर्मा कट्टेलद्धारा जारी विज्ञप्तीमा ‘देशको नमूना अस्पताल फार्मेसीको रुपमा परिचय बनाउनमा सुरुवात देखि नै आफ्नो अमूल्य योगदान दिने स्वच्छ निष्पक्ष एवं इमान्दार छवि बनाउनु भएको पोखरेललाई विगत दुई महिना देखि फार्मेसी इन्चार्जको पदबाट विभिन्न आच्छेप लगाएर अस्पताल प्रशासनको मिलोमतोमा हटाई बारम्बार मानसिक यातना दिने गरेको, अस्पताल फार्मेसीको जिम्मेबारीबाट पूर्णरुपमा बेदखल गराई झुटा आरोपको भरमा आत्महत्या गर्न मजबुर गराउने अवस्थामा पुरयाउने अस्पताल प्रशासनका पदाधिकारी लगायत यस घटनामा संम्लग्न अधिकारीहरु सहित सम्पूर्ण व्यक्तिहरुलाई कानूनी दायरामा ल्याई निष्पक्ष ढंगले कानूनी कारवाही गर्न जोडदार माग गर्दछौँ,’ भनिएको छ ।
एसोसिएसनले यो घटनाबाट अस्पतालमा दिनरात बिरामीको सेवामा समर्पित रहने सम्पूर्ण फार्मासिस्टहरुको मनोवललाई समेत कमजोर बनाएको उल्लेख छ ।
यस्तै नेपाल फार्मेसी संघका अध्यक्ष किरण ढकालले विहीबार जारी गरेको विज्ञप्तीमा पोखरेलको निधनले नेपालको फार्मेसी सेवाको क्षेत्रले एक सक्षम फार्मासिस्ट गुमाएको भन्दै यसले फार्मेसी क्षेत्रको लागि अपुरणीय क्षति पुगेको उल्लेख छ ।
संघले अस्पतालमा कार्यरत कर्मचारीले आफ्नै कार्यकक्षमा गरेको देहत्यागको घटना, मृत्यु अघिको छानविनको परिस्थिति र भेटिएको नोटमा संकेत गरिएका तथ्यहरु माथि टेकेर घटनाको अविलम्ब निष्पक्ष छानविन गरी सत्य तथ्य बाहिर ल्याउन साथै दोषीमाथि हदै सम्मको कारवाही गर्न माग गरेको छ ।
यस्तै नेपाल प्रजातान्त्रिक फार्मेसी संघले पनि विज्ञप्ती जारी गर्दै घटनाको निष्पक्ष छानविन गर्दै दोषीमाथि कारवाहीको माग गरेको छ । संघका कार्यवहाक अध्यक्ष सुदीप सुवेदीले जारी गरेको विज्ञपतीमा ‘किन्तु परन्तु नलगाइकन घटनाको यथार्थ धरातलमा बसी छानविन प्रक्रिया अघि बढाउन जोडदार माग गर्दछु,’ भनिएको छ ।
यसैबीच घटनामा सम्लग्न भएको आशंकामा प्रक्राउ परेका प्रशासन प्रमुख भोजकुमार बस्नेत, फार्मेसी इञ्चार्ज जुना स्थापित, फार्सेसी सहायक विष्णु पौडेल र कृष्ण पन्तलाई अस्पताल प्रशासनले शुक्रबार देखि नै लागू हुने गरी निलम्बन गरेको छ ।
यता घटनाको छानविन गर्न प्राडा उत्तमकृष्ण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति समेत गठन भएको छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 



