पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकै दिन दुई जनाको मिर्गौला प्रत्यारोपण

पोखरा, २१ जेठ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिम क्षेत्रीय अस्पताल) पोखरामा आइतबार आइतबार दुई जनाको मिर्गौला प्रत्यारोपण गरिएको छ । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहयोगमा एकै दिन दुई जनाको मिर्गौला प्रत्यारोपण गरिएको हो ।

आज गरिएको दुई प्रत्यारोपण सहित अहिलेसम्म पोखरामा ८ जनाको मिर्गौला प्रत्यारोपण भएको छ ।

आजको प्रत्यारोपणका लागि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका तर्फबाट निर्देशक डा पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा टोली पोखरा आएको थियो । सो टोलीमा डा दिपेश श्रेष्ठ, डा हरि प्रसाद बराल र ओटी नर्स अनिता घजु सहभागी थिए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको तर्फबाट शल्य चिकित्सक डा प्रकाश क्षेत्री, डा अनुप चापागाँई, डा सन्तोष श्रेष्ठ, डा डेभिड श्रेष्ठ, एनेस्थेसियोलोजिष्ट डा रोहिणी सिग्देल, डा माया लामा, डा पंकज बराल, डा हरि पौडेल, डा अनिल न्यौपाने, डा सतिश गुरुङ, डा विशाल गुरुङ र नेफ्रोलोजिष्ट डा जुजु राज श्रेष्ठ, डा अमृत केसी, साथै ओटी इन्चार्ज कविता पौडेल सहितको टोली संलग्न थिए ।

प्रतिष्ठानका नेफ्रोलोजिष्ट डा जुजुराज श्रेष्ठका अनुसार आजको पहिलो प्रत्यारोपण तनहुँ व्याँसका २५ वर्षीया पुनम थापा मगरको गरिएको थियो । उनलाई उनका ४९ वर्षीय बुबा राजु थापा मगरले मिर्गौला दान गरेका हुन् ।

त्यस्तै आजको दोस्रो प्रत्यारोपण पर्वत मोदी ४ का २७ वर्षीय छोरा हेमन्त पुन मगरको भएको थियो । उनलाई उनका ५२ वर्षीय बुवा गम बहादुर पुन मगरले मिर्गौला दान गरेका हुन् ।

आइतवार प्रत्यारोपण गरिएका दुवै जनाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ ।

सरकारको सहुलियतबाट बन्चित
सूचीकृत स्वास्थ्य संस्थामा मिर्गौला प्रत्यारोपण गराउँदा बिरामीले लगभग पैसा तिर्नु पर्दैन् । सुचीकृत सरकारी स्वास्थ्य संस्थामा प्रत्यारोपण गर्दा प्रतिकेश झण्डै साढे पाँच लाख रुपैयाँ सहयोग उपलव्ध हुन्छ । तर पोखरामा भइरहेको प्रत्यारोपणमा भने बिरामी आफैले सम्पूर्ण खर्च तिर्नुपर्छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिम क्षेत्रीय अस्पताल)का मेडिकल सुपरीटेन्डेन डा भरत खत्रीले आज भएका दुबै प्रत्यारोपण सशुल्क भएको र दुबै बिरामीले व्यक्तिगत पैसा तिरेर गरेको बताए ।

यता प्रत्यारोपण केन्द्रका निर्देशक डा श्रेष्ठ भने सरकारी संस्थालाई प्रत्यारोपणको अनुमति दिईसकेपछि त्यहाँ हुने प्रत्यारोपणका लागि पनि अन्यत्रका सरकारी स्वास्थ्यमा निशुल्क गराए जस्तै गरी सहुलियत प्राप्त हुनु पर्ने बताउँछन् । उनी भन्छन्, ‘नयाँ ठाँउमा प्रत्यारोपण गराउँदा झन् पैसा तिर्नु पर्ने हो भने त प्रोत्साहन नै हुँदेन् । त्यसैले सरकारले यसतर्फ विशेष ध्यान दिनु पर्छ ।’

मिर्गौला प्रत्यारोपणलाई देशव्यापी बनाउने अभियानमा प्रत्यारोपण केन्द्र

सरकारको मिर्गौला प्रत्यारोपणलाई देशव्यापी बनाउने अभियान अन्तर्गत पोखरामा मिर्गौला प्रत्यारोपणले तिब्रता पाएको छ । यस्तै प्रादेशिक अस्पताल सुर्खेतमा पनि प्रत्यारोपण सेवाको शुरुवात भइसकेको छ ।

अभियानको नेतृत्व गरेको प्रत्यारोपण केन्द्रका निर्देशक डा श्रेष्ठ भन्छन्, ‘अब क्रमश सेती प्रादेशिक अस्पताल, धनगढी, बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेटौडा अस्पताल र कोशी प्रदेशको कोशी अस्पताल विराटनगर हुँदै देशको सातै प्रदेशमा प्रत्यारोपण कार्यको तयारी भै रहेको छ ।’

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्राविधिक सहयोगमा पोखरामा पहिलो पटक २०७९ असार ९ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसपछि अहिलेसम्म ८ वटा सफल प्रत्यारोपण भइसकेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *