नसर्ने रोगबारे सचेतनासंगै नियमित रुपमा स्क्रिनिङ गर्दै नेपाल मधुमेही समाज

8
Shares

काठमाडौँ, १० साउन । शनिबार विहान १० बजे पुग्दा ओमबहालस्थित नेपाल मधुमेही समाजको केन्द्रीय कार्यलयमा राखिएको सामुदायिक क्लिनिकमा रेडियोलोजिष्ट डा. अभिशेष मानन्धरले परीक्षणका लागि आएका दुई दर्जन बढीको पेट, स्तन, प्रोष्टेट र थाइराइडको भिडियो एक्सरे गरिसकेका थिए । उनलाई प्राविधिक रुपमा अनिला थापाले सघाएकी थिईन । डा. मानन्धर सधै होइन तर महिनाको कम्तिमा दुईवटा शनिबार त्यहाँ आउने र बयस्क तथा पाका उमेरका व्यक्तिको स्वास्थ्य जाँच गरिदिन्छन् ।

मधुमेही समाजले स्वास्थ्य जाँच स्क्रिनिङ तथा शिविरका लागि आवश्यक मेसिन सहितको व्यवस्था गरेको छ ।

विशेषज्ञ डाक्टरहरुले आएर त्यो मेसिनहरु चलाउँछन् र सेवा दिने गर्दछन् ।

त्यसो त डा मानन्धर मात्रै होइन त्यहाँ कहिले कार्डियोलोजिष्ट, कहिले अप्थाल्मोलोजिष्ट, वा अरु फिजिसियन आइनै रहन्छन् । समाजले उपलव्ध गराएको सहुलियत दरको सेवा लिन स्थानीयहरु पनि आइनै रहन्छन् ।

‘खासगरी यहाँ हामीले दिने सेवाहरु स्वास्थ्य जाँच, स्क्रिनिङ नै हो । मेसिनहरु छँदैछ, शरीरमा गाँठागुठी छ कि ? प्रोष्टेड बढेको छ कि ? स्तनमा गिर्खा छ कि ? थाइराइड बढेको छ कि ? यसको स्क्रिनिङ हो, नेपाल मधुमेही समाजको यो सामुदायिक कार्यक्रममा हामीले साथ दिदै आएका छौँ । स्थानीयवासीहरु लाभान्वित हुनु भएको छ,’ डा. मानन्धरले बताए ।

उनले स्क्रिनिङ गर्दा कतिपयमा जटिल रोगका प्रारम्भिक चरण भेटिएको समेत अनुभव बताए । ‘यहाँ गरिएको स्क्रिनिङमा पनि हामीले तत्कालै थप उपचारका लागि रिफर गर्नुपर्ने केशहरु भेटाएका छौँ । नियमित स्वास्थ्य जाँचका कारणले समयमै थाहा लागेर सजिलोसंग उपचार भएका धेरै उदाहरणहरु छन्,’ उनले भने ।

समाजका अध्यक्ष शिव श्रेष्ठले विगत १३ वर्ष देखि शनिबार पारेर हेल्थ स्क्रिनिङ गर्दै आएको बताए । उनले मधुमेहका परीक्षण हरेक दिन निशुल्क भए पनि अरु ठूला जाँचहरुमा न्युनतम शुल्क लिने गरेको बताए ।

‘विशेषज्ञ चिकित्सकहरु कतिपयले स्वयंसेवी रुपमा सेवा दिनु भएको छ, कतिपयलाई हामीले न्युनतम खर्च उपलव्ध पनि गराउने गरेका छौँ । त्यसका लागि आम सर्वसाधारणसंग पनि न्युनतम शुल्क लिने गरेका छौँ,’ उनले भने ।

डा. मृगेन्द्रराज पाण्डेले विसं २०४७ सालमा स्थापना गरेको यो समाजले नसर्ने रोगहरुको र त्यसमा सबैभन्दा बढी मधुमेह र त्यो संग जोडिएका रोगबारे जनचेतना जगाउने, स्क्रिनिङ गर्दै आएको छ । त्यसका लागि समाजेले कहिले स्थानीय तहसंग मिलेर, कहिले विभिन्न अरु संघसंस्थाको सहकार्यमा कार्यक्रम आयोजना गर्दै आएको छ ।

‘समाज सञ्चालनका लागि विभिन्न व्यक्तिहरुले सहयोग गर्दै आएका छन् । केही सय केही हजार देखि लाखौँ रुपैयाँ सहयोग गर्नेहरु हुनुहुन्छ । त्यसैले हामीले यो अभियानलाई निरन्तरता दिन सकेका छौँ,’ अध्यक्ष श्रेष्ठले भने ।

महासचिव विजयालक्ष्मी श्रेष्ठले मधुमेही समाजमा आजिवन, विशिष्ट, प्रतिष्ठित, संस्थागत र सम्मानीय सदस्य बन्ने प्रावधान रहेको भन्दै त्यसबाट पनि संस्थाले आफ्ना गतिविधिहरुलाई अघि बढाइरहेको बताउँछिन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *